Matra Education शुक्रबार, साउन १५ २०८३

इटहरीमा एक सोचले ल्याएको परिवर्तन, घर घरमा शिक्षित बन्दैछन् बुहारी

इटहरीमा एक सोचले ल्याएको परिवर्तन, घर घरमा शिक्षित बन्दैछन् बुहारी

सफलताको बाटोमा ‘दुलाह होइन किताब देउ’ अभियान

  • प्रभा अर्याल
  • मंगलबार, कार्तिक २२ २०७९


काठमाडौँ- इटहरी उपमहानगरपालिका- ३ स्थित सरस्वती माविमा ‘बुहारी पढाउने साक्षरता बढाउने’ लक्ष्य सहित सुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त माविका प्रधानाध्यापक लेखनाथ भट्टराईले ‘दुलाह होइन किताब देउ’ भन्ने योजना अगाडि ल्याए देखि यो कार्यक्रमले अझै मूर्त रूप लिएको छ ।

विविध कारणले पढाइ छोडी घर बस्न बाध्य बुहारीहरूको पढ्ने सपना पूरा गर्नका लागि कक्षा ११ र १२ समेत सञ्चालन गरेको विद्यालयको यो अवधारणालाई साथ दिन त्यहाँका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र चिने जानेकाहरूको सहयोग स्वरूप २५ प्रतिशत पढाइ खर्च दिनुका साथै योग्यता पुगेकालाई छात्रवृत्ति दिने कार्यक्रम सञ्चालनमा छ ।

‘बुहारी पढाउने साक्षरता बढाउने’ लक्ष्य सोचेजस्तो सजिलो नभए पनि अहिले यसले सार्थकता पाउन थालेको भट्टराई बताउँछन् । कतिलाई त पढ्नुपर्छ भनेर सम्झाउन र विद्यालय ल्याउन आठ/दस वर्ष लागेको उनी बताउँछन् ।

‘जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता प्रसन्न हुन्छन्’ भन्ने सन्त मनुको भनाइलाई मनन गर्दै यो अभियान सञ्चालन गरिएको हो। गाउँमा अहिले बुहारीहरूले पढ्ने क्रमले अहिले लय समात्नुका साथै कार्यक्रम प्रभाकारी बन्दै गएको छ ।

२०२६ सालमा स्थापना भएर हालसालै स्वर्ण महोत्सव मनाएको सरस्वती माविमा गत भदौ १ गतेबाट सुरु भएको कक्षामा ११ मा पढ्ने ८८ जना छन् भने कक्षा १० सम्म ६०० विद्यार्थीहरू छन् । आफ्नो नाम लेख्न सक्ने, चेक बनाउन सक्ने, मोबाइल चलाउने, साक्षर बनाउने लक्ष्यमा बुहारी पढाउने कार्यक्रमले धेरै प्रभावकारी काम गर्नुका साथै अनिवार्य विषयका पुस्तकहरू कक्षा ११ लाई निःशुल्क दिने प्याकेज पनि यही कार्यक्रमै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड