काठमाडौँ- एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखा नगर कमिटीले आयोजना गरेको ‘अपेन किड्स स्पार्कल डे’ सम्पन्न भएको छ।आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाभित्रका २१ विद्यालयका ४७१ बालबालिकाले विभिन्न सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी प्रस्तुति दिएका छन्।
बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गराउने, आत्मविश्वास बढाउने तथा उनीहरूको सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २३ वटा प्रस्तुति समावेश गरिएको थियो। मन्टेश्वरी तथा प्रि-स्कुलमा अध्ययनरत बालबालिकाले प्रस्तुत गरेका नृत्य, सांस्कृतिक कार्यक्रम तथा अन्य प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएका थिए।
कार्यक्रम अपेन टोखा नगर कमिटीकी अध्यक्ष संगीता दुवाडीको सभापतित्व तथा अपेनका केन्द्रीय अध्यक्ष कृष्ण कुमार बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा अपेनका केन्द्रीय उपाध्यक्षहरू विशेष अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै, काठमाडौँ जिल्लाका स्थानीय तह कमिटीका अध्यक्षहरू अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा सहभागी बालबालिकाले विभिन्न सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सानै उमेरमा बालबालिकाले देखाएको आत्मविश्वास, प्रस्तुति क्षमता र सृजनशीलताले प्रारम्भिक बाल शिक्षामा अतिरिक्त क्रियाकलापको महत्त्वलाई समेत उजागर गरेको थियो।
अपेन टोखा नगर कमिटीले बालबालिकाको सर्वाङ्गीण विकास, उनीहरूमा अन्तर्निहित प्रतिभाको पहिचान तथा विद्यालयहरूबिच आपसी एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालयमा सिकेका सीप प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।