Matra Education बुधबार, भाद्र ३ २०८३

आज नियमावलीपछि राज्य–शैक्षिक परामर्श क्षेत्र सहकार्यको नयाँ आयाम विषयमा राष्ट्रिय अन्तरक्रिया हुँदै

आज नियमावलीपछि राज्य–शैक्षिक परामर्श क्षेत्र सहकार्यको नयाँ आयाम विषयमा राष्ट्रिय अन्तरक्रिया हुँदै

  • मात्र एजुकेशन
  • सोमबार, साउन १८ २०८३


काठमाडौँ- शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयनपछि राज्य र शैक्षिक परामर्श क्षेत्र बिच सहकार्यका सम्भावना, चुनौती तथा सुधारका विषयमा केन्द्रित “नियमावलीपछि राज्य–शैक्षिक परामर्श क्षेत्र सहकार्यको नयाँ आयाम” विषयक अन्तरक्रिया कार्यक्रम आज (सोमबार) काठमाडौँको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजना हुँदै छ।

मात्र एजुकेसनको आयोजनामा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा संघीय संसद्का सांसद, राजनीतिक दलका प्रतिनिधि, शैक्षिक परामर्श क्षेत्रका विभिन्न संघ–संस्थाका पदाधिकारी, शिक्षा विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षाका विज्ञ प्रकाश पाण्डेले मुख्य अवधारणा पत्र (Keynote Speech) प्रस्तुत गर्नेछन् भने फेकन महासचिव दीपेन्द्र पोखरेलले धरौटी व्यवस्थासम्बन्धी विशेष मन्तव्य दिने कार्यक्रम रहेको छ।

कार्यक्रमअन्तर्गत दुई वटा विषयगत प्यानल छलफल आयोजना गरिनेछ।

पहिलो प्यानल छलफल “शैक्षिक परामर्श क्षेत्रप्रति राजनीतिक दलहरूको नीति र दृष्टिकोण” विषयमा केन्द्रित हुनेछ। यस छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियार, नेपाली काङ्ग्रेसकी सांसद सीता थपलिया, नेकपा (एमाले) का सांसद गुरुप्रसाद बराल तथा इक्यान अध्यक्ष लक्ष्मण पौडेल सहभागी हुनेछन्। उक्त छलफलको सहजीकरण सञ्चारकर्मी टीकाराम यात्रीले गर्नेछन्।

त्यसै गरी दोस्रो प्यानल छलफल “धरौटी व्यवस्था: आवश्यकता, औचित्य र प्रभाव” विषयमा हुनेछ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, फेकनका अध्यक्ष उमेश कुश्वार, एरी नेपालका पूर्व अध्यक्ष महेशबाबु तिमल्सिना तथा नेक्साका अध्यक्ष सन्तोष खनाल सहभागी हुनेछन्। यस छलफलको सहजीकरण सञ्चारकर्मी पवन आचार्यले गर्नेछन्।

आयोजकका अनुसार नयाँ नियमावली कार्यान्वयनपछि देखिएका चुनौती, सुधारका सम्भावना तथा राज्य र शैक्षिक परामर्श क्षेत्र बिच सहकार्यलाई थप प्रभावकारी बनाउने उपायबारे रचनात्मक संवाद गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

मात्र एजुकेसनले कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्षलाई सम्बन्धित सरकारी निकाय र सरोकारवालासमक्ष पुर्‍याउने जनाएको छ। कार्यक्रमका लागि शैक्षिक परामर्श क्षेत्रका संघ–संस्था, शिक्षा क्षेत्रका सरोकारवाला तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड