मानिसका योजनाहरू सधैँ एउटै सरल रेखामा हिँड्दैनन् भन्ने यथार्थ पत्रकार श्याम तण्डुकारको जीवनमा मेल खान पुगेको छ। जीवनको एउटा लयमा दौडिरहेका बेला समयले कसरी अर्कै मोड लिन्छ र इच्छाशक्तिसँगै नियतिले कस्तो खेल खेल्छ भन्ने उदाहरण उनको पछिल्लो भोगाइले देखाएको छ। लामो समयदेखि पत्रकारितालाई धर्म र दौडधुपलाई कर्म मान्दै आएका तण्डुकारका लागि गत असोज महिना जीवनकै एउटा कठिन परीक्षा बनेर उभियो ।
२०८२ सालको असोजमा खुट्टामा देखिएको एउटा सामान्य घाउलाई बेवास्ता गर्दा त्यसले गम्भीर रूप लियो र उनलाई चार महिनासम्म घरको चार भित्ताभित्र सीमित गरिदियो। सधैँ समाचार र सूचनाको खोजीमा दौडिने पत्रकारका लागि त्यो एकान्तवास कुनै कारावासभन्दा कम थिएन। तर, त्यही शारीरिक कष्ट र छटपटीका बीच उनले एउटा नयाँ सिर्जनाको खाका कोरे। नेपालभरिका रोटरी क्लबका प्रेसिडेन्टहरूको जीवनी र उहाँहरूको सामाजिक योगदानलाई एउटै ग्रन्थमा समेट्ने उद्देश्यका साथ उनले ‘प्रेसिडेन्ट’ पुस्तकको परिकल्पना गरे। बिस्तारामा परेरै प्रविधिको सहायताले देशभरका रोटरियनहरूसँग सम्पर्क बढाउँदै गर्दा पुस्तकले आकार लिन थालेको थियो ।
पुस्तकको कामले गति लिइरहेका बेला तण्डुकारको जीवनमा अर्को ठुलो बज्रपात प¥यो। गत माघ ६ गते उनले आफ्नी ममतामयी आमालाई गुमाउनुपर्यो। एकातिर पुस्तकका लागि देशभरका प्रेसिडेन्टहरूसँग संवाद चलिरहेको थियो भने अर्कोतिर मातृशोकले उनलाई विक्षिप्त बनायो। आमाको वियोगपछि केही समय उनी संसारसँग पूर्णतः सम्पर्कविहीन बने। ह्वाट्सएपमा आउने म्यासेज र फोनका घण्टीहरूले उनलाई छुन छाडिसकेका थिए र एक समय उनलाई यो योजना नै स्थगित गरेर सबैको रकम फिर्ता गरिदिऊँ भन्ने सोच समेत आएको थियो।
तर, नियतिले फेरि अर्को मोड लियो। रोटरीको डिस्ट्रिक्ट कन्फरेन्सको मिति पछि सरेको सूचनाले उनलाई नयाँ ऊर्जा दियो। यसलाई आमाकै आशीर्वाद ठानेर उनी पुनः पुस्तकलाई पूर्णता दिन कस्सिए। रातदिनको मेहनत र निरन्तरको फलोअपपछि अन्ततः ‘प्रेसिडेन्ट’ पुस्तक तयार भएको छ। यो पुस्तक केवल नाम र तस्बिरहरूको सङ्ग्रह मात्र नभएर नेपालमा रोटरीको इतिहास, यसको स्थापना र मानवीय सेवामा रोटरियनहरूले निर्वाह गरेको भूमिकाको एउटा महत्त्वपूर्ण दस्ताबेज बनेको छ। शारीरिक चोट, मानसिक पीडा र समयको भीषण चापलाई चिर्दै तयार भएको यो कृति तण्डुकारका लागि एउटा पुनर्जन्म र सिर्जनाको प्रतिफल दुवै सावित भएको छ ।