Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को नतिजा, आधा विद्यार्थीले पढ्न पाउने छैनन् उच्च शिक्षा

कक्षा १२ को नतिजा, आधा विद्यार्थीले पढ्न पाउने छैनन् उच्च शिक्षा

  • मात्र एजुकेशन
  • बुधबार, साउन ३१ २०८०


काठमाडौँ- मंगलबार सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार आधा प्रतिशतले उच्च शिक्षा पढ्न नपाउने भएका छन्। परीक्षा भएको ८० दिनपछि नतिजा सार्वजनिक गर्दै परीक्षा बोर्डले दिएको जानकारी अनुसार ५०.९१ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् भने बाँकी ४९.०९ प्रतिशतले एनजी ल्याएका छन्। ति विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि अयोग्य भएका हुन्।

गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । यो वर्ष एक लाख ८२ हजार ९२६ (४९.०९ प्रतिशत) एनजी ल्याएका छन्, जुन गत वर्ष १ लाख ८८ हजार ४१० जना रहेका थिए । त्यसकारण गत वर्षको तुलनामा सुधार भएको बोर्डले दाबी गरे पनि उच्च शिक्षा पढ्न नपाउनेको संख्या ठूलो देखिएको छ । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२/०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ ।

यो वर्ष सबै भन्दा धेरै १ लाख ९ हजार ५२७ जनाको अंग्रेजी विषयमा ननग्रेड आएको छ । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड छ ।

बोर्डले २ विषयसम्म ननग्रेड हुनेका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दैछ । त्यसमा १ लाख २३ हजार ३ सय ९६ जना सहभागी हुन पाउनेछन् । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसार एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेको छ ।

अघिल्ला वर्षहरुमा दुईवटा विषयसम्म एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर यो वर्षदेखि जति वटा विषयमा एनजी आएको छ त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

नतिजा चित्त नबुझे के गर्ने ?
नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने सदस्य सचिव अर्यालले जानकारी दिए ।

पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड