काठमाडौँ- बुढानीलकण्ठ नगर युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीले लोभलाग्दो सफलता हात पारेको छ। शनिवार आयोजित उक्त प्रतियोगितामा सहभागी १५ विद्यालयका विद्यार्थीहरूलाई पछि पार्दै रिलायन्समा अध्ययनरत विद्यार्थीले प्रथम, द्वितीय र सान्त्वना पुरस्कार आफ्नो नाममा गर्न सफल भए ।
प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत अभिषेक श्रेष्ठ प्रथम हुँदा सोही संस्थामा कक्षा ११ मा अध्ययनरत नवीन पुरीले द्वितीय स्थान प्राप्त गरे। त्यस्तै प्रतियोगितामा सोही विद्यालयको कक्षा १० मा अध्ययनरत प्रवेश दाहालले सान्त्वना पुरस्कार प्राप्त गरे। प्रतियोगिताका विजेतालाई क्रमशः प्रथमलाई नगद रु. २५ हजार , दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
बुढानीलकण्ठ नगर युवा परिषद्का अध्यक्ष तथा नगर प्रमुख मिठाराम अधिकारीको सभापतित्व तथा सामाजिक विकास समितिकी संयोजक तथा नगर कार्यपालिका सदस्य शान्ता ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगितामा नगर युवा परिषद् कार्यकारी सदस्य, नगर वडा युवा परिषद् अध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, विद्यार्थीहरू लगायत युवाहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा तीन वटा स्थानमा आफ्ना विद्यार्थी विजयी भए पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै रिलायन्सका इसिए संयोजक गोविन्द ढकालले विगत चार वर्ष देखि इसिए/ सिसिएलाई रिलायन्सले विशेष ध्यान दिँदै आएकोले बाहिरी प्रतियोगितामा समेत यसको ठुलो प्रभाव परेको बताए । आजसम्म बाहिरी प्रतियोगिताहरूमा रिलायन्सले नजितेको रेकर्ड नै नभएको उनको दाबी थियो।
त्यस्तै रिलायन्सका प्रधानाध्यापक रविन्द्र जंग थापाले प्रतियोगिताका तीन वटा पुरस्कार रिलायन्समा आउनु आफूहरूको लागि खुसी र गर्वको कुरा भएको बताए। उनले रिलायन्समा पढाई सँगसँगै विद्यार्थीहरूको सर्वपक्षीय विकासका लागि विभिन्न क्रियाकलापलाई उत्तिकै महत्त्व दिँदै सहभागी गराइने गरेको हुँदा यस किसिमका सफलताहरू हात पर्ने गरेको बताए। थापाले रिलायन्सका विद्यार्थी यस्तै विशेषताका कारण हरेक क्षेत्रमा अब्बल बन्ने गरेको उल्लेख गरे।