काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राष्ट्रिय नाचघर जमलको हलमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरणका साथै परामर्श प्रदान गरेको हो ।
सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडा, काठमाडौँ महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाईं, उत्प्रेरक वक्ता रविन कटुवाल विशेष अतिथिका रूपमा रहेका थिए। त्यस्तै कार्यक्रममा सेन्ट लरेन्सका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो ।
निकै आकर्षक स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रमलाई कलेजका प्लस टु कोअर्डिनेटर तथा कार्यक्रम सञ्चालक मुकुन्द ढुंगानाले कलेजको छोटो परिचय सहित औपचारिकता दिएका थिए । विगत २५ वर्षदेखि प्लस टु मा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको कलेजले कार्यक्रम मार्फत २६ औँ ब्याचलाई स्वागत गरेको उनको भनाई थियो ।
स्वागत मन्तव्य राख्दै कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले एसइई उत्तीर्ण भएकोमा सबै विद्यार्थीलाई बधाई र आगामी शैक्षिक यात्राका लागि शुभकामना दिए ।आफ्नो रुचिको विषय हृदय देखिनै रोजेकाले सबै विद्यार्थी सफल हुन्छन् भन्ने उनको विश्वास थियो । छनोट गरिसकेको विषय कठिन लागेमा वा आफूलाई अर्को विषय अझै उपयुक्त छ भन्ने लागेमा कलेजले केही दिनका लागि विषय परिवर्तनका लागि सहयोग पनि गर्ने उनले उल्लेख गरे। सेन्ट लरेन्स आएका विद्यार्थीले आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि सही कलेजको छनोट गरेको उनले बताए । कलेजमा रहेका विभिन्न क्लबहरूको उदाहरण दिँदै पढाई बाहेक पनि थुप्रै गतिविधि कलेजमा गर्न सकिने र आफ्ना विद्यार्थीको व्यक्तित्व विकासका लागि पनि कलेज सधैँ तयार रहेको उनको भनाई थियो । सुवेदीले सेन्ट लरेन्सको बृहत् परिवारमा सबै नव आगन्तुक विद्यार्थीलाई गरे।
हाल कक्षा १२ मा अध्ययनरत सेन्ट लरेन्स सामाजिक तथा वातावरण क्लबकी अध्यक्ष समेत रहेकी सिर्जना ज्योतिले आफ्नो अनुभव बाँड्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिन्। १ वर्ष अघि आफू पनि के होला? कस्तो होला भन्ने दुबिधा सहित तलको भिडमा बसेको र आज कलेजले आफूलाई गरिरहेको मार्गनिर्देशन बाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनको भनाइ थियो। कलेजले शिक्षा मात्रै नभई व्यक्तित्व विकासका लागि पनि काम गर्ने र थुप्रै अवसर दिने हुँदा सेन्ट लरेन्स सँगको प्रत्येक दिन अर्थपूर्ण हुने उनको भनाइ थियो।
सबै शिक्षकहरूको प्रतिनिधित्व गर्दै आफ्ना भनाइ राखेका शिक्षक नानीकाजी खड्काले कार्यक्रमको सुरुवातमा बजेको पश्चिम कोही पूर्व घर भन्ने गीत जस्तै सेन्ट लरेन्स सबै देशभरका विद्यार्थीको साझा घर भएको उल्लेख गरे। उनले छिटो हिँड्ने भए एक्लै हिँड्न र गन्तव्य लामो छ अनि सफल हुनु छ भने सबैलाई सँगै लिएर हिँड्नुपर्छ भन्ने भनाइको दृष्टान्त दिँदै सहकार्यको भावना हुनुपर्नेमा जोड दिए । पृथ्वीमा कोही पनि पूर्ण नभएकाले एक अर्कामा निर्भर रहेर मात्रै मानव पूर्ण हुने उल्लेख गरेका उनले सेन्ट लरेन्समा आफ्ना विद्यार्थीको भविष्य निर्माणका लागि शिक्षक प्रशासन देखि सबै पक्ष विशेष हेरचाह गर्ने किसिमको भएको भनाई राखे।
आफ्नो प्लस टु छनोटको अनुभव बाँड्न मञ्चमा उक्लिएकी कक्षा ११ कि सिर्जना श्रेष्ठले अत्यन्तै राम्रो कार्यक्रम मार्फत स्वागत गरेको भन्दै कलेज प्रशासनलाई धन्यवाद दिइन् । आफ्नो उज्ज्वल भविष्यका लागि लामो र सफल इतिहास भएको कलेज छानेको उल्लेख गरेकी उनले सोही मञ्च मार्फत आफूलाई एसइईमा ४ जिपिए ल्याएर उत्तीर्ण गर्न सफल बनाउने सबै शिक्षकहरूलाई धन्यवाद दिइन् ।
कार्यक्रममा अझै रोचक मन्तव्य कक्षा ११ मा भर्ना भएकी विद्यार्थी गंगा पुरीको थियो। फरक क्षमता भएकी उनले क्यान्सरले दिएको चुनौती सँग लड्दै एसइई सम्मको अध्ययन पुरा गरेको जानकारी कार्यक्रममा दिइएको थियो। कानुन संकायमा भर्ना भएकी उनले आफ्नो सपना अन्तर्राष्ट्रिय अपराध विरुद्ध वकालत गर्ने अधिवक्ता बन्ने रहेको बताइन् । आफूले एउटा खुट्टा गुमाइसकेपछि हेयको दृष्टिले हेर्न थालिएको भए पनि आफू कहिल्यै नहार्ने उच्च मनोबल लिएर आफ्नो लक्ष्य भेट्न अघि बढेको उनको भनाई थियो । सबै फरक क्षमता भएका विद्यार्थीहरूका लागि एउटा उदाहरण बनेर देखाउने दृढ संकल्प आफूले गरेको बताउँदै सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालले आफूलाई अझै बढी आँट, ढाडस र उत्प्रेरणा दिएकाले आफू कलेजमा भर्ना भएको बताइन्। परिवारको सदस्य जस्तै व्यवहार गरेको भन्दै उनले दंगाल प्रति विशेष आभार व्यक्त गरिन्।
कार्यक्रमका विशेष अतिथि काठमाडौँ महानगर शिक्षा विभाग प्रमुख यमनाथ चौलागाईंले सेन्ट लरेन्सले मञ्चमा देखाएको अतिरिक्त क्रियाकलापले नै प्रफुल्लित पार्न सफल भएको उल्लेख गरे। उनले उपस्थित विद्यार्थीले सेन्ट लरेन्स जस्तो उत्कृष्ट शैक्षिक संस्था छानेको भन्दै बधाई दिए । सेन्ट लरेन्सले विभिन्न परीक्षाहरूमा उत्कृष्ट नतिजा निकालेको भन्दै उनले आगामी दिनमा पनि त्यो कायम रहने विश्वास व्यक्त गरे। चौलागाईंले महानगर शिक्षा विभागका विभिन्न गतिविधि र योजनाहरू बारे पनि कार्यक्रममा जानकारी गराए।
अर्का विशेष अतिथि विमल कुमार होडाले देशले आजका विद्यार्थीहरू बाट धेरै आशा गरेको बताए । उनले ईश्वरमा आस्था राख्नुपर्ने र आफ्ना आमा, बुबा र गुरुलाई ईश्वर सरहको सम्मान दिनुपर्ने उल्लेख गरे । सेन्ट लरेन्सका शिक्षकहरूले अर्को अभिभावक बनेर आफ्ना विद्यार्थीलाई सत्कार्यमा लगाउने आफ्नो विश्वास रहेको उनको भनाइ थियो । उनले कलेज तथा विद्यार्थी दुवैको उज्ज्वल भविष्यको कामना गरे ।
कार्यक्रममा कक्षा ११ मा पढाउने अध्यापकहरूको परिचय विद्यार्थीहरू माझ गराइएको थियो भने सेन्ट लरेन्सको इतिहास, हालसम्मका उपलब्धि र आगामी योजनाहरू पनि प्रस्तुत गरिएको थियो। त्यस्तै कार्यक्रममा प्रस्तुत स्वागत नृत्य र नाटकले उपस्थित सबैको मन जित्न सफल भयो। यी दुवै प्रस्तुतिले अर्थपूर्ण सन्देश दिएका थिए।
कार्यक्रममा विशेष प्रस्तुति दिँदै विद्यार्थीलाई उत्प्रेरणा तथा परामर्श प्रदान गरेका उत्प्रेरक वक्ता रबिन कटवालले तारिफयोग्य प्रस्तुति दिएका थिए। जीवनमा सफल हुन र संसार जित्न चाहिने हिम्मतका लागि उत्प्रेरणा प्रदान गरेको बताउने कटवालले पनि प्लस टु मध्य उत्कृष्ट कलेजमा भर्ना पाएको भन्दै विद्यार्थीलाई बधाई दिएका थिए । हेलन केलरको जीवनको एउटा प्रसङ्गको अति सान्दर्भिक उदाहरण बाट प्रस्तुति सुरु गरेका उनले शान्त बन्ने, विकल्प नभएको चिज बन्ने व्यक्ति नै सफल हुने धारणा राखेका थिए । धैर्यता नै विद्यार्थीका लागि अपरिहार्य तत्त्व भएको हुँदा जीवनमा धैर्यता नगुमाउन उनले विद्यार्थीलाई सुझाव दिए। थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको प्रशस्त उदाहरण अनि उनीहरूको संघर्ष अनि सफलताको कथा प्रस्तुत गरेका कटवालले विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले आमन्त्रणका लागि कलेजलाई धन्यवाद दिइन् । आफूले कलेज बारे सुनेको भए पनि धेरै नबुझेको भए पनि कार्यक्रम हेरेर प्रभावित भएको उनले बताइन्। छोटो समय भनेर कार्यक्रममा आएको भए पनि प्रस्तुतिहरूले मोहित भएर दुई घण्टा बितिसक्दा पनि बसिरहेको भन्दै उनले अझै बढी प्रगति होस् भन्ने शुभकामना दिइन् । गुणस्तरीय शिक्षा खोज्न धेरै बिदेसिएको प्रति चिन्ता व्यक्त गर्दै उनले लगानी अनुसारको प्रतिफल ल्याउँदै नेपालमै गुणस्तरीय शिक्षा व्यवस्था गर्न अपिल गरिन् । व्यवहारिक शिक्षाको आवश्यकता खड्किएको भन्दै उनले प्रदेश सरकारले त्यसका लागि ठुलो छलफल अगाडी बढाएको बताइन् । कार्यक्रममा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका योजनाहरू पनि उनले संक्षिप्तमा जानकारी गराएकी थिइन्।
कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले कक्षा सुरु हुनुभन्दा अगाडी सफलतापूर्वक प्लस टु तह पार गर्नका लागि विद्यार्थीलाई मार्गदर्शन दिन र उत्प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। पूर्व मेची देखि पश्चिम महाकाली सम्म देशका ७७ वटै जिल्ला बाट आफ्नो उज्ज्वल भविष्यका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई यो निर्णय अति उपयुक्त भएको भन्दै उनले बधाई दिए। कलेजले उनीहरूको अन्तर्निहित प्रतिभाको विकास गर्दै देशलाई योगदान दिन सक्ने जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। सेन्ट लरेन्स एउटा फूलबारी भएको र त्यस फूलबारीमा राम्रो फुल फुल्नका लागि चाहिने राम्रो माटो, माली, उर्वर वातावरण आदि सबै भएका कारण सेन्ट लरेन्स उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए। सेन्ट लरेन्स पढेर आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरू उदाहरणका रूपमा अगाडी नै रहेको भन्दै उनले कलेजले आफ्नो गुणस्तरलाई भोलिको दिनमा पनि कायम राख्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरे।
औपचारिक कार्यक्रम समापन पश्चात् सेन्ट लरेन्सका विद्यार्थीका प्रतिभाले भरिपूर्ण मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यार्थीहरूका गायन, नृत्य लगायतका प्रतिभाहरू मनमोहक देखिन्थ्यो।


