Matra Education आइतबार, साउन १० २०८३

कक्षा ११ का लागि मनास्लुको अभिमुखीकरण, राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रमको झल्को

कक्षा ११ का लागि मनास्लुको अभिमुखीकरण, राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रमको झल्को

  • मात्र एजुकेशन
  • शनिबार, साउन २० २०८०


काठमाडौँ- चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शनिवार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले आफ्ना विद्यार्थीहरूका लागि कलेज बारे जानकारी गराएको हो। अभिमुखीकरण कार्यक्रम भए पनि प्रस्तुतिहरू तथा गतिविधिहरू हेर्दा राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रमको झल्को कलेजले दिएको थियो।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामको सभापतित्वमा सम्पन्न कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमला, हास्य कलाकार सन्दिप क्षेत्री र गायक अमर अनुराग श्रेष्ठ विशेष अतिथिका रूपमा रहेका थिए । विभिन्न क्षेत्रमा सफलता हात पारेका अन्य विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहित कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिन्सिपल राजन श्रेष्ठले कार्यक्रमको उद्देश्य र गरिने क्रियाकलापहरू बारे प्रस्ट पारे। कलेजले हाल सञ्चालनमा रहेका विषयहरू पनि फरक हिसाबले पढाई रहेको र छिटै ब्युटी र कस्मेटिक्स लगायत नयाँ विषयहरू सुरु गर्न लागेको उनले जानकारी दिए। कलेजले आफ्नो नारा जस्तै सीपमूलक शिक्षामा जोड दिएको भन्दै उनले अबको शिक्षाको सफलता जिपिएले निर्धारण गर्ने नभई सीपले गर्ने बताए। श्रेष्ठले मनास्लुमा भर्ना भएका विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

मनास्लुमा अध्ययन गर्दै गर्दाको आफ्नो अनुभव बाँड्दै कक्षा १२ की छात्रा रित राणाले मनास्लुले आफ्ना लागी जीवन भरका लागि हुने ठुला ज्ञान र अवसरहरू सिर्जना गरेको बताइन् । एउटा कलेजमा हुनुपर्ने सबै पक्ष उतिकै अब्बल रहेको मनास्लुमा पाइने विशेषता अन्त पाउन कठिन हुने उल्लेख गरेकी उनले मनास्लु काठमाडौँकै उत्कृष्ट कलेज भएको बताइन् ।

सामान्यतया अभिमुखीकरण भन्ने बित्तिकै नियमहरू पढाउने अवसरका रूपमा कलेजहरूले लिने भए पनि मनास्लुले भने राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरू ल्याएर उत्प्रेरणा दिने, मनोरञ्जन गराउने र सफलताका कथाहरू बाँड्ने अवसरका रूपमा यसलाई प्रयोग गरेको थियो। कार्यक्रममा प्रस्तुतिका लागि उपस्थित विभिन्न ब्यान्डको प्रस्तुति, र्‍याप देखि दोहोरी सम्मका संगीतको संयोजन, गायन, नृत्य, जादु लगायत प्रस्तुतिहरूले कार्यक्रमलाई अझै रोचक र अर्थपूर्ण बनाएका थिए। कार्यक्रमको सुरुवातमै प्रस्तुत स्वागत नृत्य वास्तवमै जो कोहीको मन जित्ने खालको थियो। अन्य प्रस्तुतिहरू पनि कुनै व्यावसायिक कलाकारको भन्दा कम थिएनन्। यी सबै पक्षहरूले कार्यक्रमलाई राष्ट्रिय स्तरको एउटा सांस्कृतिक कार्यक्रम झैँ बनाएको थियो।

कार्यक्रममा शुभकामना दिन पुगेका चर्चित सञ्चारकर्मी ऋषि धमलाले मनास्लुको व्यवस्थापन बाट आफू प्रभावित भएको बताए। सबै पक्षको राम्रो समिश्रण भएकाले मनास्लु उत्कृष्ट कलेज हो भन्ने आफ्नो बुझाइ रहेको उनले उल्लेख गरे। धमलाले मनास्लुको अनुशासनले यो देशको आगामी यात्राको मार्गनिर्देश गर्ने भन्दै भोलिका मन्त्री, प्रधानमन्त्री, वैज्ञानिक, पत्रकार, कलाकार सबै मनास्लुका विद्यार्थी बन्ने विश्वास व्यक्त गरे। उनले मनास्लुमा अध्ययनरत विद्यार्थीलाई विदेश जाने नभई देशमै अध्ययन गर्न सुझाव दिए ।

कार्यक्रममा कक्षा ११ पढाउने प्राध्यापकहरूको परिचय विद्यार्थीहरू माझ गराइएको थियो भने सह प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका बारे जानकारी दिँदै के गर्ने, के नगर्ने लगायत विषयहरूमा जानकारी दिँदै अभिमुखीकरण गराएका थिए। श्रेष्ठले मनास्लुको आज सम्मका उपलब्धि र आगामी योजनाहरू पनि विद्यार्थीहरू माझ बाँडे।

कार्यक्रममै अमेरिकन ट्रेनिङ कम्पनी सफ्ट स्किल्स ए.एच.ए कि अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशक आयुशा श्रेष्ठले मनास्लुमा निकट भविष्यमा सञ्चालन हुन लागेको सफ्ट स्किल्स तालिमको बारेमा जानकारी गराइन् । कक्षाकोठा र करियर बिचको अन्तरलाई पुल बनेर जोड्ने काम यो कार्यक्रमले गर्ने उनले बताइन् । यो कार्यक्रम मार्फत निकट भविष्यमा विभिन्न किसिमका सिपमूलक तालिमहरू कलेजमा सञ्चालन हुने भएको छ।

कार्यक्रममा विशेष प्रस्तुति राखेका हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो कलाकारिता यात्राको सुरुवाती दिन देखिका क्षणहरू स्मरण गरे। उनले हास्य रस मार्फत मनोरञ्जन दिनुका साथै विद्यार्थीहरूलाई उत्प्रेरणा पनि प्रदान गरे। उनको उपस्थितिले कार्यक्रमलाई अझै रोचक बनाएको थियो।

कार्यक्रम समापन गर्दै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति गेन्द्र लामाले मनास्लु गन्तव्यमा पुगेको नभई त्यस तर्फको यात्रामा रहेको उल्लेख गरे। उनले कार्यक्रम सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गरे। लामाले कलेजलाई विश्वास गर्ने ७०० भन्दा धेरै विद्यार्थीलाई धन्यवाद दिँदै त्यो विश्वास गुम्न नदिने प्रतिज्ञा गरे। कार्यक्रम नै कलेजले गर्ने गतिविधिहरूको प्रतिनिधि भएको हुँदा कार्यक्रममा देखिएका जस्तै गतिविधिहरू वर्ष भरी कलेजमा विद्यार्थीहरूका लागि गर्ने बताउँदै उनले कार्यक्रम अन्त्य गरे।

मनास्लु वर्ल्ड कलेज स्थापनाको छोटो समयमै अलग पहिचान बनाउँदै सफलता हात पार्न सफल भएको शैक्षिक संस्था हो। यो चाबहिल क्षेत्रकै एक मात्र आइएसओ प्रमाणित कलेज हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड