काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान- २०८०’ प्राप्त गरेको छ। हिजो शनिवार चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको एक औपचारिक कार्यक्रममा कलेजका प्रिन्सिपल पुरुषोतम महर्जनलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले उक्त सम्मान प्रदान गरेकी हुन्। प्रतिष्ठानले गुणस्तरीय शिक्षा दिँदै बागमती प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भन्दै उक्त सम्मान सेन्ट लरेन्सलाई प्रदान गरेको हो।
प्रतिष्ठानले प्रदान गरेको सम्मान पत्रमा भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सेन्ट लरेन्स सफल भएको र आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान् र नैतिकवान् शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस् भन्ने कामना गरिएको छ ।
सेन्ट लरेन्स कलेजले यस अघि पनि थुप्रै अवार्ड तथा सम्मानहरू प्राप्त गरिसकेको छ।

