Matra Education आइतबार, साउन १० २०८३

टेकसस इन्टरनेसनल सेकेण्डरी स्कुलको एसइई सम्मान कार्यक्रम सम्पन्न

टेकसस इन्टरनेसनल सेकेण्डरी स्कुलको एसइई सम्मान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन १२ २०८०


काठमाडौँ- चाबहिल स्थित टेक्सस इन्टरनेशल सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा सहभागी भई उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ। बिहीबार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक औपचारिक कार्यक्रमका बिच स्कुलले ‘एसइई ब्याच २०७९’ लाई सम्मान गरेको हो।

टेक्सस इन्टरनेसनल सेकेण्डरी स्कुलका व्यवस्थापन समिति अध्यक्ष जितेन्द्र कुमार बाकुको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा ७ का अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा टेक्सस इन्टरनेसनल स्कुल/ कलेज सँग सम्बन्धित शिक्षक/शिक्षिका/कर्मचारी/ प्रशासकहरू सहित टेक्ससमा कक्षा १० पढ्दै गरेका र सोही विद्यालय बाट एसइई उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

उपस्थित विद्यार्थीलाई स्वागत गर्दै टेक्सस इन्टरनेसनल सेकेण्डरी स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले उत्कृष्ट नतिजा सहित एसइई उत्तीर्ण भएकोमा विद्यार्थीहरूलाई बधाई दिए। यो सफलता बाट मेहनत गरे सफल भइन्छ भन्ने सन्देश लिएर अघि बढ्न सुझाव दिएका उनले आफूमा विश्वास, भगवानमा भरोसा र काममा मेहनत गरे सधैँ सफलता हात पर्ने धारणा राखे। अबको शैक्षिक गन्तव्य छनोटले विद्यार्थीको भविष्य निर्धारण गर्ने हुँदा उचित परामर्श लिएर, बुझेर मात्रै प्लस टु छनोट गर्न उनले सुझाव दिए। श्रेष्ठले आफ्ना विद्यार्थीलाई टेक्ससले आमाले जस्तै माया दिने हुँदा आफ्नै विद्यालयमा प्लस टु पढ्न चाहे विशेष छात्रवृत्ति प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै ‘एसइई ब्याच २०७९’ बाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी सहिसा खतिवडाले आफ्नो सफलताको श्रेय सम्पूर्ण विद्यालय परिवारलाई दिँदै धन्यवाद दिइन्। उनले आफूहरूलाई सिकाउन मेहनत गर्नुहुने शिक्षक शिक्षिकाहरू सबै विशेष सम्मानको हकदार भएको भन्दै देखाएको बाटोमा लागिरहने संकल्प गरिन्। टेक्ससले शैक्षिक रूपमा मात्रै नभई आध्यात्मिक र सांस्कृतिक रूपमा पनि पूर्ण मानव बनाएको उनको भनाई थियो।

त्यस्तै अर्का विद्यार्थी कृष शाहले आफूले कक्षा ४ देखि टेक्ससमा पढेको स्मरण गर्दै एसइई सम्मको यो यात्रा रोमाञ्चक रहेको अनुभव सुनाए। उनले विद्यालयमा आफूलाई सबैले धेरै माया गरेको हुँदा काठमाडौँकै सबैभन्दा राम्रो स्कुल टेक्सस हो भन्ने आफ्नो बुझाइ रहेको बताए। आफूले टेक्सस कलेजमै विज्ञान संकाय अध्ययनका लागि भर्ना गरेको बताएका उनले सबै साथीहरूलाई टेक्ससमै पढ्न सुझाव दिए।

कार्यक्रममा बोलेका शिक्षक तथा प्रशासनका अन्य प्रतिनिधि वक्ताहरूले पनि विद्यार्थीलाई उत्कृष्ट नतिजाका लागि बधाई र आगामी यात्राका लागि शुभकामना दिए। नयाँ शैक्षिक यात्रामा अझै धेरै चुनौतीहरू हुने हुँदा सही निर्णय लिएर आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सबै वक्ताहरूको साझा सुझाव थियो। कार्यक्रममा ‘एसइई ब्याच २०७९’ लाई मायाको चिनो सहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि होडाले टेक्सस जस्तो व्यवस्थित विद्यालयमा पढ्न पाउने विद्यार्थीहरू भाग्यमानी भएको उल्लेख गरे। उनले ईश्वरमा आस्था राख्दै आमा, बुबा र गुरुको सम्मान गर्न सक्ने व्यक्ति मात्रै सफल हुने बताए। होडाले टेक्सस स्कुलका धेरै कार्यक्रमहरूमा आफू सहभागी भएको स्मरण गर्दै विद्यालयले माछा होइन बल्छी र सीप दिएको छ भन्ने कुरामा आफू विश्वस्त रहेको भनाई राखे। उनले काठमाडौँ महानगरले पनि गरिखाने शिक्षाको नीति लिएको भन्दै सकेसम्म विदेश जाने भन्दा देशमै केही गर्ने सोच बनाउन विद्यार्थीलाई सुझाव दिए ।

कार्यक्रमको अनौपचारिक सत्रमा टेक्ससका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

यहाँ क्लिक गरेर कार्यक्रमका थप तस्बिरहरू हेर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड