काठमाडौँ- चाबहिल पिपलबोट स्थित सेन्ट लरेन्स कलेजले प्लस टु तर्फ ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु डट कम अनलाइन मिडियाले आयोजना गरेको केन्द्रबिन्दु प्लस टु एजुकेसन अवार्डमा कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो। केही दिन अघि आयोजना गरिएको एक औपचारिक कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइराला, आदि अतिथिको समुपस्थितिमा कलेजका प्रधानाध्यापक पुरुषोतम महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
केन्द्रबिन्दुले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै उत्कृष्ट शिक्षालय (कक्षा ११ र १२) को परिचय बनाउन सफल भएकोमा अवार्ड प्रदान गरिएको बताएको छ। सेन्ट लरेन्सलाई ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक ‘अवार्ड-२०८०’ बाट सम्मानित गर्न पाउँदा गर्व लागेको भन्दै उक्त अनलाइनले उत्कृष्ट शिक्षालयको गरिमामय उपस्थितिलाई निरन्तरता दिँदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाएको सेन्ट लरेन्स कलेजले यसअघि पनि थुप्रै अवार्ड तथा सम्मानहरू प्राप्त गरिसकेको छ।