Matra Education आइतबार, साउन १० २०८३

पेचिलो बन्दै फेकनमा चुनावी प्रतिस्पर्धा, स्वतन्त्र खबरदारी अभियान निर्णायक

पेचिलो बन्दै फेकनमा चुनावी प्रतिस्पर्धा, स्वतन्त्र खबरदारी अभियान निर्णायक

  • मात्र एजुकेशन
  • बिहिबार, असार २१ २०८०


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १२ औँ वार्षिक साधारण सभा असार २३ गते सम्पन्न हुँदै छ। आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने भएको हुँदा यो साधारण सभालाई अत्यन्तै महत्वका साथ हेरिएको छ। खास गरी संस्थाको नेतृत्व अब कसको हातमा जान्छ भन्ने विषयले फेकनमा प्राथमिकता पाएको छ।

निर्वाचन हुने मिति नजिकिँदै गर्दा फेकनको नयाँ नेतृत्वका लागि दुई प्यानल बिच कडा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ भने नतिजाको पूर्वानुमान गर्न कठिन हुने देखिन्छ । दुवै प्यानलले आ-आफ्नो समूहमा भएका सबैभन्दा सक्षम उम्मेदवार छनोट गरेर प्यानल बनाएका छन् । संस्थाका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला आमनेसामने हुँदा केही पदहरूमा यी दुई प्यानल बाहेक स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्।

यो समाचार तयार गर्दा सम्मको परिस्थितिमा फेकनमा दुवै प्यानलमा आबद्ध नभएको एउटा समूह निर्णायक हुने देखिएको छ । स्वतन्त्र खबरदारी अभियानका रूपमा आफूलाई चिनाउने यो समूहमा यस अघिका कार्यसमिति सदस्य रामशरण ढकाल, यो कार्यसमितिका महासचिव प्रत्याशी विपिन केसी लगायतका व्यवसायीहरू छन् । २७ जना फेकन सदस्य परामर्श व्यवसायीको यो समूह आफूहरू सबल नेतृत्व छनोटको अभियान सहित अगाडी बढेको बताउँछ । खासगरी प्यानल र समूह भनेर संस्थामा आउँदा छाता संगठनले उद्देश्य अनुरूप काम गर्न नसकेको हुँदा अब त्यसलाई रोक्नु आवश्यक भएको यो समूहको ठहर छ। मात्र एजुकेसन सँग कुरा गर्दै समूहका एक व्यवसायी भन्छन्, “आजको परिस्थितिमा यी दुई प्यानलको प्रतिस्पर्धाको बिचमा हामी निर्णायक शक्ति बनेका छौँ । हामीले कुनै व्यक्तिलाई भोट हाल्नुस् वा नहाल्नुस् भनेका छैनौँ तर प्यानल होइन संस्थामा व्यक्तिले आजसम्म खेलेको भूमिका हेरेर भोट हाल्नुस् चाहिँ भनेका छौँ ।” यो पटक कुनै समूह होइन फेकनलाई जिताउने हाम्रो अभियान छ।

दुवै समूह बिच देखिएको तीव्र प्रतिस्पर्धाका बिचमा यो समूहले सुरु गरेको अभियानले नयाँ नेतृत्व छनोटमा राम्रो प्रभाव पार्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड