Matra Education सोमबार, साउन ११ २०८३

गर्मी बढेपछि पठनपाठन प्रभावित, देशका विभिन्न भागमा विद्यालय बन्द

गर्मी बढेपछि पठनपाठन प्रभावित, देशका विभिन्न भागमा विद्यालय बन्द

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ १८ २०८०


काठमाडौँ- गर्मी बढेपछि देशका विभिन्न भागमा विद्यालय बन्द भएका छन्। स्थानीय तहले निर्णय गर्दै गर्मीका कारण पठनपाठन प्रभावित बनेको भन्दै विद्यालय बन्दको निर्णय गरेका हुन्।

विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रवार बिदा दिने निर्णय गरेका हुन् ।

नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेन्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुने गरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरू बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रूपमा सञ्चालन हुनेछ ।

यसैगरी झापामा पनि अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । झापाको मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् ।

कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ भने मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

गर्मीका कारण विद्यालय बन्द गर्नेमा सुनसरी जिल्ला पनि थपिएको छ। सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधवार सम्मका बिदा दिएको हो।

त्यसै गरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए । त्यहाँ १८ गतेदेखि २३ गते मङ्गलवार सम्म बिदा दिइएको छ ।

इटहरी उपमहानगरले आज र भोलि बिदा दिने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड