Matra Education आइतबार, साउन १० २०८३

विनायक सिद्ध कलेजले ‘एस.इ.इ. करियर काउन्सिलिङ’ कार्यक्रम गर्ने

विनायक सिद्ध कलेजले ‘एस.इ.इ. करियर काउन्सिलिङ’ कार्यक्रम गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, जेष्ठ ७ २०८०


काठमाडौँ- चाबहिलस्थित विनायक सिद्ध कलेजले ‘एस.इ.इ. करियर काउन्सिलिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) दिएका विद्यार्थीलाई लक्षित गर्दै कलेजले हरेक वर्ष गर्दै आएको कार्यक्रमको पाँचौँ संस्करण यही जेठ १७ गते गर्न लागिएको कलेज प्रशासनले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा बिहान ९:३० बाट कार्यक्रम सञ्चालन हुने जानकारी कलेजले दिएको छ।

देशभरबाट एस.इ.इ. परीक्षा दिएका विद्यार्थीहरू नि:शुल्क सहभागी हुन पाउने यो कार्यक्रममा सहभागीहरूले माध्यमिक शिक्षापछिको बाटो के हुने भन्ने विषयमा सम्बन्धित विषय विज्ञबाट परामर्श प्राप्त गर्नेछन्। खास गरी विद्यालय तहमा अध्ययन गर्दा विद्यार्थीहरूले करियरसम्बन्धी ठुलो निर्णय गर्नु नपर्ने भए पनि त्यसपछिको अध्ययन (प्लस टु) मा भने कुन विषय पढ्दा के हुन्छ र कसरी अगाडि बढ्ने भन्ने दुबिधा हुने हुँदा त्यसलाई मेटाउनका लागि कलेजले कार्यक्रम आयोजना गरेको जनाएको छ।

मात्र एजुकेसनसँग कुरा गर्दै विनायक सिद्ध क्याम्पसका क्याम्पस प्रमुख रामकृष्ण सिम्खडाले सो कार्यक्रम मार्फत विज्ञान, व्यवस्थापन, मानविकी, कानुन लगायत विषयहरूका विज्ञ ल्याएर यी विषय अध्ययन गर्दा आउने सम्भावना, अवसर आदिका बारेमा सम्पूर्ण जानकारी विद्यार्थीलाई दिने लक्ष्य राखिएको बताए। उनले उक्त कार्यक्रम मार्फत आजको श्रम बजारमा कस्तो किसिमको जनशक्ति खपत भइरहेको छ? के को आवश्यकता बढी छ? आदि विषयमा विद्यार्थीहरूले जानकारी पाउने हुँदा यो परामर्शका कारण सुनिश्चित भविष्य निर्माणका लागि विद्यार्थीहरूलाई सहज हुने बताए। सिम्खडाले कार्यक्रममा सहभागी भएर त्यसको अधिकतम लाभ लिन सबै एस.इ.इ. दिएका विद्यार्थीहरूलाई अनुरोध पनि गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड