काठमाडौँ- निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले नयाँ नेतृत्व चयन गरेको छ। गत शनिवार काठमाडौँमा सम्पन्न पाँचौँ अधिवेशनबाट राजन श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
अधिवेशनले मिरा सिलवाल र पुष्पराज सिम्खडालाई उपाध्यक्ष, सुदिप काफ्लेलाई महासचिव, राजु पुडासैनीलाई उपमहासचिव, लक्ष्मी गुरुङलाई सचिव, राजेश्वर तिवारीलाई कोषाध्यक्ष र होम लक्ष्मी गुरुङलाई सह-कोषाध्यक्षको जिम्मेवारी दिएको छ। त्यस्तै निराजन आचार्य, रूपक लामिछाने, सुस्मिता मैनाली, मुरारी चालिसे, सुरेन्द्र मगर, सन्तु खड्का र शिव कुमार तिमल्सिना कार्यसमिति सदस्यमा चयन भएका छन्।

अध्यक्ष निर्वाचित भएपछि मात्र एजुकेसन सँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थालाई अझै सबल र उत्कृष्ट बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने प्रतिक्रिया दिए। महासचिव बनेर काम गर्दै गर्दा प्राप्त गरेको अनुभवले आफूलाई संस्थाले दिएको जिम्मेवारी निभाउन अझै सहज हुने उनको भनाइ थियो। प्याब्सकमा आबद्ध विद्यालयहरूको संस्थागत विकास, विद्यार्थीको सिकाई क्षमता अभिवृद्धि र शिक्षकको क्षमता विकास आफ्नो कार्यकालको प्राथमिकताका रूपमा रहने उनले बताए।
प्याब्सक महाधिवेशनले जुराएको संयोग:
२०६१ सालमा स्थापित भएर शैक्षिक उन्नयनका लागि काम गर्दै आएको प्याब्सकको पाँचौँ महाधिवेशनले एउटा संयोग जुरायो। चौथो महाधिवेशन बाट अध्यक्ष निर्वाचित गेन्द्र लामाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै शनिवार नेतृत्व हस्तान्तरण गरे। नवनिर्वाचित अध्यक्ष राजन श्रेष्ठ उनको कार्यकालमा महासचिवको भूमिकामा थिए। यी दुवै चाबहिल स्थित मनास्लु वर्ल्ड स्कुल/कलेजका सञ्चालक हुन्। ४६ वटा शैक्षिक संस्था रहेको प्याब्सकमा वर्तमान र निवर्तमान अध्यक्ष एउटै संस्था बाट परेको संयोग अधिवेशनमा देख्न पाइयो।
चुनौतीका बिच संस्थाको नेतृत्व लिएका निवर्तमान अध्यक्ष लामाले आफ्नो कार्यकाल उत्कृष्ट रहेको प्रतिक्रिया दिए। आफ्नो कार्यकालमा भएका थुप्रै शैक्षिक तथा अतिरिक्त क्रियाकलापको स्मरण गर्दै उनले कोरोना महामारी जस्तो ठुलो चुनौतीमा पनि आफूहरू नरोकिएको स्मरण गरे। त्यस बाहेक पनि अन्य चुनौतीहरूका कारण केही योजनाहरू अझै पुरा गर्न बाँकी रहेको र त्यो नवनिर्वाचित कार्यसमितिले गर्ने विश्वास आफूले लिएको उनको भनाई थियो।
प्याब्सकले आफ्नो क्षेत्रमा रहेका संस्थागत विद्यालयहरूलाई संगठित गर्दै सामूहिक हितका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ।