काठमाडौं- काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निजी तथा संस्थागत विद्यालयहरुलाई नियमसंगतरुपमा छात्रवृति उपलब्ध गराउन निर्देशन दिएका छन् । शाहले आज सामाजिक संजाल फेसबुकमा मार्फत् यस्तो निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशत नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको भन्दै मेयर शाहले नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेकोले काठमाण्डौ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् ।
साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र विद्यार्थीहरूलाई सुचित गराउन समेत शाहले अनुरोध गरेका छन् ।
नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्नुका साथै अन्यथा भएमा महानगरले कानुन बमोजिम कारवाही अगाडि बढाउन बाध्य हुने उनले उल्लेख गरेका छन् ।
मेयर शाहले यस्ता कुनै समस्या देखिएमा काठमाडौ महानगरको कलसेन्टर ११८० मा कल गरेर गुनासो गर्न समेत सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।