काठमाडौँ- विगतका वर्षहरूमा शैक्षिक सत्र सकिँदा सम्म केही जिल्लाहरूमा पाठ्यपुस्तक विद्यार्थीहरूको पहुँचमा पुग्न असम्भव हुने गरेको खबर तपाईँ हामीले पढ्ने, सुन्ने गरेका थियौँ । तिनै खबर बर्सेनि पढ्दा पढ्दा हामीले यो वर्ष पनि त्यस्तै त हो नि भनेर अड्कल काट्न थालिसकेको थियौँ तर यो वर्ष हाम्रो त्यो बुझाई गलत साबित भएको छ ।
यो वर्ष शैक्षिक सत्र सुरु भएर विद्यार्थी भर्ना अभियान सुरु भएकै दिनबाट विद्यार्थीहरूको हातहातमै पाठ्यपुस्तक पुग्ने थालेको छ । यस पटक भने विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारीले लगभग काम गरेको देख्न सकिन्छ ।
यस्तै सरकारले आज वैशाख ३ गतेदेखि १५ गतेसम्म देशभर भर्ना अभियान सञ्चालन गर्दै छ र त्यही भर्ना अभियान सञ्चालनको समयसम्ममा सबै विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्याउने उद्देश्य सरकारको रहेको छ ।
यो वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले लिएको थियो भने र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेको थियो । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको छ । निजी मुद्रणले कक्षा १–५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् । केन्द्रका अनुसार शनिवार सम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ तराईका जिल्ला रहेको र त्यहाँ पाठ्यपुस्तक पुर्याउन सजिलो भएकोले छिट्टै पुग्ने केन्द्रको दाबी छ । यो पटक हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बताए ।
केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठ वटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ । धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक सम्बन्धित जिल्लामा ढुवानी भइरहेको जनाएको छ ।
समग्रमा हेर्दा यस पटक भने विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउने लगभग सुनिश्चित देखिएको छ ।