काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इङ्लिस सेकेन्डरी स्कुलले दीक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा कागेश्वरी मनोहरा नगरपालिका- ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र विद्यालयका संस्थापक नारायण दाहाल रहेका थिए । विद्यालयले भव्य कार्यक्रमका बिच प्रमुख अतिथिहरूद्वारा दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो ।
त्यस्तै विद्यार्थीहरूले आफ्नो कला,नृत्य र सांस्कृतिक फेसन सो लगायतका प्रस्तुतिहरू प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोमाञ्चक बनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका हरिभक्त पुडासैनीले अहिलेको समयमा बालबालिकाहरूले लामो समयसम्म मोबाइल, ल्यापटप जस्ता आधुनिक सामाग्रीको बढी प्रयोग गर्ने गरेकाले बालबालिकाहरूमा शारीरिक र मानसिक समस्या उत्पन्न हुन सक्ने भन्दै दुःख व्यक्त गरे । साथै अभिभावकहरू आफ्ना बालबालिकाहरूको क्रियाकलाप प्रति सजग रहनुपर्ने र बेलाबेला आफ्ना सन्तानलाई प्रविधिको फाइदा र बेफाइदाका बारेमा जानकारी गराई रहनुपर्ने धारणा उनको थियो ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल रामेश्वर दाहालले स्कुलले आफ्नो स्थापनाकालदेखि नै असल, कुशल र सक्षम विद्यार्थी उत्पादनमा जोड दिएको बताए । उनले आफ्नो स्कुलले अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्नुका साथै विभिन्न विधामा कुशल व्यक्तित्वहरू समेत उत्पादन गर्न सफल भएकोमा खुसी व्यक्त गरे।
त्यस्तै कार्यक्रम उपस्थित साहित्यकार तथा पत्रकार घनेन्द्र ओझाले गोठाटार स्कुल शिक्षा क्षेत्रमा नाम लिन योग्य स्कुल भए पनि स्कुलले गरेको राम्रा कामहरुका बारेमा प्रचारप्रसार हुन नसक्दा भनेजस्तो परिणाम विद्यालयले दिन नसकेको बताए । ओझाले विद्यार्थीहरूलाई पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलाप र क्षमता अभिवृद्धिका लागि कला, साहित्य र सङ्गीतका प्रशिक्षण जस्ता कार्यक्रहरुमा सहभागी गराउन सुझाव दिए ।