काठमाडौँ- बुढानीलकण्ठमा रहेको स्पार्क एडुकेयर प्रि स्कुलले अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ । शनिवार आयोजित एक कार्यक्रमका बिच विद्यालयले कक्षा युकेजी पास गरेर कक्षा १ जाँदै गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।
साना बालबालिकाहरूलाई सम्मान गर्दा हौसला बढ्ने र अझै राम्रो गर्न प्रोत्साहन मिल्ने भएकाले कार्यक्रम आयोजना गरिएको स्पार्क एडुकेयर प्रशासनले जनाएको छ । विद्यालयका सञ्चालक विनोद थापाको अध्यक्षता र बुढानिलकण्ठ नरपालिका ६ का वडा अध्यक्ष रवि खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, अपेनका विभिन्न कमिटीका पदाधिकारीहरू र विद्यालयका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढानिलकण्ठ नरपालिका ६ का वडा अध्यक्ष रवि खड्काले विद्यालयले आयोजना गरेको कार्यक्रममा साना साना बालबालिकाहरुले देखाएको प्रतिभा, उनीहरुको क्षमता देखेर आफू गौरवान्वित भएको बताए । साथै शिक्षकहरूले बालबालिकालाई सिकाएको गुण,अनुशासन देखेर आफू दङ्ग परेको भन्दै आगामी दिनहरुमा पनि यस्ता कुरामा जोड दिन विद्यालयलाई अनुरोध गरे । आफ्नो वडाका सबै विद्यालयहरुको शैक्षिक अवस्था, शैक्षिक वातावरण आदिको आफुले निरिक्षण गरिरहेको र बुढानिलकण्ठ नगरपालिका भित्र रहेका सडकहरु बालबालिका मैत्री बनाउन आफुले पहल गरिरहेको धारणा समेत उनले व्यक्त गरे ।
अहिलेको समयमा बालबालिकालाई अभिभावकहरुले मोबाइल धेरै देखाउने गरेको भन्दै बालबालिकालाई मोबाइल देखाउनु भन्दा पनि बालबालिकाहरुको इच्छा चाहना बुझेर अतिरिक्त क्रियाकलापहरु सिकाउनुपर्ने उनले बताए । स्पार्क एडुकेयरले बालबालिकाहरूका लागि थुप्रै कार्यक्रम गर्दै आएको र गर्दै जाने भन्दै उनले विद्यालयलाई आगामी यात्राका लागि शुभकामना दिए।
कार्यक्रमका सभापति विनोद थापाले अभिभावकहरुले आगामी दिनमा पनि स्पार्क एडुकेयरलाई यस्तै साथ र सहयोग गर्ने अपेक्षा राखेको बताए । आफ्ना नानिबाबुहरुलाई अभिभावकहरुले जुन जिम्मेवारीको साथ स्कुल पठाउनु भएको छ त्यो जिम्मेवारी स्कुलले बहन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । स्पार्क एडुकेयर सञ्चालनमा आएको छोटो समयमै धेरैको मन जित्न सफल भएको र आगामी दिनमा झन् सशक्त ढङ्गले अगाडि बढ्ने बताए । विद्यालयमा एलीजा बस्नेत म्याम आउनुभएकोले पनि झन् सहज भएको भन्दै उनले नानीबाबुहरूका लागि यस्ता कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। र अन्त्यमा थापाले कार्यक्रमको समापन गर्दै विद्यालयबाट दिक्षित तथा बिदाई हुने विद्यार्थीहरुलाई आगामी दिनको लागि शुभकामना दिए ।