Matra Education आइतबार, साउन १० २०८३

एसइई सुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि

एसइई सुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र १७ २०७९


काठमाडौँ-  परीक्षा भन्ने बित्तिकै विद्यार्थीहरूको मनस्थितिमा एक किसिमको डर, त्रास, तनाव उत्पन्न हुन्छ । झन् अझ परीक्षाहरूमा पनि कक्षा १० को परीक्षा अर्थात् एसईई भनेपछि विद्यार्थीहरू हतासिने नै गर्छन् । पहिले कक्षा १० को परीक्षालाई फलामे ढोका भनेर भन्ने गरिन्थ्यो तर अहिले ग्रेडिङ प्रणाली सुरु भएपछि त्यो परिस्थिति अलिक सहज भएको छ । यसैबिच आज बाट देशैभरि यो बर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा सुरु भएको भैसकेको छ । परीक्षामा झन्डै झन्डै ५ लाख विद्यार्थी सहभागी भएका छन् ।

त्यस्तै परीक्षाको क्रममा आज केही यस्ता घटना पनि घटेका छन् जून निकै लज्जास्पद छ । परीक्षा सञ्चालन गर्ने निकाय कत्तिको जिम्मेवार छ भन्ने कुरा यहीँबाट प्रष्ट हुन्छ । आज बाराको एउटा परीक्षा केन्द्रबाट एसइई सुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो। प्रश्नपत्र बाहिरिए पछि परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको भन्ने खबर आएको छ । हुनत:  केही समय अघि मात्रै सकिएको स्नातक तहको परीक्षामा पनि परीक्षा हल बाहिर बसेर परिक्षार्थीलाई चिट चोराउनेको भिड लागेको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

त्यस्तै आज नै धनुषाको औरही गाउँपालिका स्थित चक्कर माविमा परीक्षा सुरु भएको झन्डै १ घण्टा पछि मात्र परीक्षा सुरु भएको छ । अङ्ग्रेजी विषयको प्रश्नपत्रको सट्टा नेपाली विषयको प्रश्नपत्र विद्यार्थीको हातमा पुगेपछि परीक्षा ढिलो गरी सुरु भएको हो । प्राविधिक गडबडीले अङ्ग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी परीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाई धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिएका छन् ।

परीक्षाको सम्पूर्ण तयारी एकदमै राम्रो भएको र त्यही अनुसार एसईईको परीक्षा सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्डले दाबी गरे पनि त्यस्ता परीक्षागत त्रुटि आखिर कहिलेसम्म ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड