काठमाडौँ- मण्डिखाटारमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलले पाँचौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । मंगलबार राजधानीको धुम्बाराही स्थित सूर्य इभेन्ट्सको हलमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले पाँचौँ वार्षिकोत्सव सम्पन्न गरेको हो । राइजिङ स्टार बोर्डिङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रमणि दाहालको सभापतित्व र शैक्षिक सुधार अभियन्ता अभिषेक घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसर पारेर विद्यालयले कक्षा पाँचको अध्ययन पूरा विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको थियो । त्यस्तै राइजिङ स्टार गट ट्यालेन्ट पनि सम्पन्न गरेको विद्यालयले आजै ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरेको थियो । आजका बालबालिकालाई शिक्षा, संस्कार सहित उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित गराउनुपर्छ भन्ने मान्यता बोकेको विद्यालयले आफ्ना विद्यार्थीका हजुरबुबा/ हजुरआमा (६५ वर्ष माथिका) लाई सम्मान गरेर उनीहरूको योगदान सदा स्मरण गर्नुपर्ने र नयाँ पुस्ताले आदर अनि माया गर्नुपर्ने सन्देश दिएको थियो। कार्यक्रम सञ्चालिकाले सम्मान कार्यक्रमको महत्त्व बारे चर्चा गरिरहँदा सम्मानित ज्येष्ठ नागरिकहरू भावुक देखिन्थे।
आफ्ना अभिभावकहरूलाई सूर्य इभेन्ट्स पुर्याएर कार्यक्रम मार्फत आफ्नो गुणस्तरको परिचय दिन विद्यालय सफल भएको छ । कार्यक्रम अवधिभर विद्यार्थीहरूले देखाएको विविध सिर्जनात्मक प्रस्तुतिहरू त्यसको प्रमाण बनेको हो। स- साना बालबालिकाहरूले देखाएको गायन, नृत्य, वक्तृत्व, वाद्यवादन आदि कला कुनै स्थापित कलाकारको जस्तो देखिन्थ्यो । बालबालिकाको अङ्ग्रेजी भाषाको स्तर र समसामयिक विषयको चेतना लोभलाग्दो थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे।
कार्यक्रममा बोल्दै राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण कुमार बोहराले आफूले कल्पना गरे अनुसारकै सानो चिटिक्कको प्राइमरी र प्रि स्कुल बनाएको बताए। बालबालिकाहरूको शैक्षिक सँगै सर्वपक्षीय विकासका लागि २४ सै घण्टा खटिइरहेको भन्दै उनले ठुला विज्ञापन गर्नुभन्दा पनि आफ्नो गुणस्तर नै बोलोस् भन्ने आफ्नो चाहना रहेको बताए। आफ्नो विद्यालय छोडेर कुनै अर्को विद्यालय जाँदा एउटा विद्यार्थी हरेक क्षेत्रमा लिडर बनोस् र सानैमा व्यावसायिक बन्दै आम अभिभावकले कल्पना गरेको भन्दा फरक क्षमता सहित प्रस्तुत होस् भन्ने विद्यालयको उद्देश्य रहेको उनको भनाइ थियो। ठुलो पैसा र अन्तर्राष्ट्रिय फ्रेन्चाइजले नदिने त्यो किसिमको गुणस्तरका लागि आफ्नो विद्यालयका शिक्षक शिक्षिकाहरूको कक्षा भित्रको मेहनत र लगावको भूमिका रहेको समेत उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले बालबालिकाको प्रस्तुतिको खुलेर तारिफ गरे । शिक्षा गुणस्तरीय हुँदा र नहुदा पर्ने फरक बारे चर्चा गरेका उनले आफूले भोलिका नेतृत्वकर्ताहरू राइजिङ स्टारमा देखेको उल्लेख गरे। सक्षम नेतृत्व गर्ने प्रिन्सिपल रहेकै कारण विद्यालय आजको अवस्था सम्म आइपुगेको आफूले पाएको भन्दै उनले विद्यालयका अभिभावकहरूलाई बालबालिकाहरूको भविष्यका लागि निश्चिन्त रहन आग्रह गरे । सामुदायिक विद्यालय सुधारको आफ्नो अभियान बारे समेत चर्चा गरेका उनले नेपाल सरकारले निजीले गरेको काम थोरै मात्र सिक्यो भने पनि सरकारी विद्यालयको अवस्था सुधारिने धारणा राखे।
कार्यक्रममा बोलेका अन्य सबै वक्ताहरूले राइजिङ स्टार आफ्नो उद्देश्यमा सफल विद्यालय रहेको भन्दै आगामी यात्राका लागि पनि शुभकामना दिए।
कार्यक्रमका सभापति इन्द्रमणी दाहालले उपस्थित सबैलाई धन्यवाद दिए । देखाउनु पर्ने जति स्टेजमै देखाइसकेको हुँदा धेरै बोल्नु जरुरी नभएको भन्दै उनले आगामी दिनमा अझै राम्रो गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रम अन्त्य गरे।
