काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित शीतला माध्यमिक विद्यालयले विद्यालयका विभिन्न तहमा कार्यरत शिक्षकहरूको लागि एक हप्ताको चौध घण्टे आधारभूत कम्प्युटर तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
सो कार्यक्रम २०७९ चैत ६ गते बाट १४ सम्म सञ्चालनमा रहनेछ । शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षा सकिए पछि पछि २ बजेबाट ४ बजे सम्म सो तालिम कार्यशाला विद्यालयको कम्प्युटर ल्याबमा सञ्चालन हुनेछ ।
कक्षा कोठालाई प्रविधि मैत्री बनाउन, पठनपाठनमा आइसिटी समावेश गर्न, शिक्षण पेशामा ज्ञान विज्ञान र नवप्रवर्तनलाई जोड्न, विद्यालयको वेबसाइट अपडेटेड राख्न, विद्यालयमा स्कुल म्यानेजमेन्ट सिस्टम प्रयोग गर्न, प्रश्नपत्र निर्माण तथा अन्य कार्यलाई व्यवस्थित गर्न, समय सापेक्ष शिक्षा लिन दिन कम्प्युटरको प्रयोग सम्बन्धी आधारभूत सीप सबै शिक्षकमा नभई नहुने पक्ष भएकोले विद्यालयले आफ्नै प्रयासमा तालिम कार्यशालाको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले बताए ।
समयानुकूल शिक्षण गर्न शिक्षकहरूले डेस्कटप पिसी, ल्यापटप पिसी, र ट्याब्लेट जस्ता मोबाइल उपकरणहरू पनि प्रयोग गर्नुपर्छ । यसका लागि विद्यालयले प्रयोगात्मक अभ्यास सहितको कार्यशाला आयोजना गरेको कुरा विद्यालयका शिक्षक विजया मिश्र बताउँछन् । सबै शिक्षक कर्मचारीहरू कति वेला कम्प्युटर ल्याबमा सिक्न जान पाइएला भनेर उत्साह र आतुर भई कुरि बसेका अवस्था भएको कुरा प्राथमिक शिक्षक सुनिता श्रेष्ठले बताइन् । एक कुशल शिक्षकले समय सापेक्ष विद्यार्थीमा सीप र ज्ञानको प्रवाहको आदानप्रदान गर्न कम्प्युटरका सीपहरू अपरिहार्य र अनिवार्य भएकोले यो कार्यक्रमको माग विद्यालय प्रशासन समक्ष गरेको विषय नेपाल भाषाका शिक्षक श्रीमती विनीता तन्डुकारले बताइन् ।
प्रयोगात्मक शिक्षा, व्यवहारिक शिक्षा र वैज्ञानिक तथा जीवनोपयोगी शिक्षा दिने हो भने पहिला शिक्षक तयार नभई हुँदैन, यसका लागि यो तालिम अपरिहार्य थियो, माध्यमिक तहका शिक्षक सिताराम अधिकारीले बताए । शिक्षक इन्दु थापा कक्षा कोठालाई रमाइलो र सिकाइ प्रति जागरूक बनाउन यो सिप उपयोगी हुने हुनाले यसको प्रभावकारीतामा विश्वास रहेको भावना व्यक्त गरिन् । परम्परागत रुपमा, पुरानो विधि र तरिकाबाट गरिआएको शिक्षण पेशालाई आधुनिक शैलीमा दिन विद्यालयले कोसिस गरेको हुनाले शीतला मा.वि. समय सापेक्ष शिक्षा दिन सक्षम रहेको कुरा शिक्षक देवु शर्माले बताए ।
हाम्रो शीतलालाई राम्रो र गुणस्तरीय शीलता बनाउन यो तालिम प्रभावकारी हुने छ भन्ने विश्वास जागृत भएको छ, शिक्षक विन्दुदेवी पाण्डेले उल्लेख गरे । कम्प्युटर प्रयोगमा साक्षर मात्र हैन अझ लगातार यस्ता तालिम आयोजना गरी शिक्षकको पेशागत दक्षता बढाउन आवश्यक भएको कुरा शिक्षक राधा बोगटीले बताइन्। “तालिम समय सकिए पनि म त अभ्यास गरेरै बसेँ, यो त जति सिक्यो त्यति रमाइलो र सिकौँ सिकौँ लाग्ने पो रहेछ, शिक्षक विजया न्यौपानेले भनिन् ।”
कम्प्युटरसँग सम्बन्धित विविध सामग्री तथा सुविधाहरूको सही सदुपयोग गर्न र यिनीहरूको कक्षा कोठामा प्रवेश गराइ शिक्षण कार्य सँग जोड्न आवश्यक प्रविधिहरूको जानकार हुनुपर्ने भएकोले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक अनिल खनालले बताए । लेक्चर मेथडबाट एकोहोरो भाषण गरी पढाउनु सिकाउनु भन्दा संसारको ज्ञानलाई विद्यार्थी माझ प्रस्तुत गर्न यो तालिम फलदायी हुन सक्ने शिक्षक सुनिल श्रेष्ठले बताए। विद्यालयका शिक्षक सुभद्रा दनाई, विमला भट्ट र पविता श्रेष्ठले एकै स्वरमा विद्यालय प्रशासनको प्रयासलाई प्रशंसा गर्दै आफूहरूले जानेको कुराहरू सर मिसहरूलाई शेयर गर्न पाउँदा र थप केही नयाँ कुरा सिक्न पाउँदा खुसी लागेको बताए ।
कम्प्युटर प्रयोगको युगमा असामान्य उत्कृष्टता र दक्षताको लागि लक्ष्य राख्नुपर्छ, प्राप्त गर्नुपर्छ यसका लागि यो तालिम उपयोगी हुने विश्वास गरिएको प्रशिक्षक तथा विद्यालयका आइसिटी विभाग प्रमुख अजय वन्तले बताएका छन्। काठमाडौँ महानगरपालिकाले यस्ता कार्यक्रमहरू आयोजना गरी समय सापेक्ष शिक्षक तयार गर्ने कार्य गरेमा सुनमा सुगन्ध हुने साबिक उच्च मा.वि.का शिक्षक लेखनाथ निरौलाले बताएका छन् । विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारीले आगामी दिनमा शीतलाले शैक्षिक क्षेत्रमा देखिने गरी कार्यक्रम गर्ने र सोही अनुरूप उपलब्धि ल्याउने योजना रहको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रलाल श्रेष्ठले ठुलो प्रयास, मिहिनेत र कोसिसले स्थापना र विकास गरेको विद्यालयलाई अझै अब्बल र स्तरीय उपलब्धि दिने शैक्षिक संस्थाका रूपमा लान अनवरत प्रयासमा रहेको बताए । कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षाको अवलोकन र निरीक्षणका क्रममा विद्यालय पुग्नु भएका काठमाडौँ महानगरपालिका, तरुण मा.वि. स्रोत केन्द्रका स्रोत व्यक्ति लोकनाथ गुरागाँइले विद्यालयको असल अभ्यास र कोसिसमा सधैँ महानगरपालिका तथा स्रोत केन्द्र सहयोगी रहने बताए ।