काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स स्कुलले अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। शनिबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच स्कुलले अभिभावक दिवस मनाएको हो । एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।
सेन्ट लरेन्स स्कुलका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र न ४ का संघिय सांसद गगन कुमार थापा प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै बागमती प्रदेशका सांसद श्रीराम लामिछाने विशिष्ट अतिथिका रूपमा रहँदा काठमाडौँ महानगरपालिका वडा न ७ का अध्यक्ष विमलकुमार होडा सहित अन्य समाजसेवी, शिक्षाकर्मी तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू अतिथिका रूपमा कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा विद्यालयका प्रशासक, शिक्षक/शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्स स्कुलका प्रिन्सिपल पुरुषोत्तम महर्जनले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। २०५४ साल देखि +२ बाट सुरु भएको सेन्ट लरेन्सको यात्रामा नेपाल सरकारको नीति अनुरूप स्कुल चाहिले भएपछि ७६ सालबाट स्कुल लेभलको समेत पढाइ सुरु गरेको उनले स्मरण गरे। अभिभावक दिवस भनेको अभिभावकले विद्यार्थीका लागि गरेका सबै त्याग तपस्या बापत विद्यार्थीले आफ्नो क्षमता देखाउने दिन भएको हुँदा यो अभिभावकहरूको दिन भएको उनको भनाइ थियो। २६ वर्षे यात्रामा मन्टेश्वरी देखि मास्टर्स सम्म पढाउन संस्था सफल भएको उनले उल्लेख गरे। जीवनका लागि शिक्षा भन्ने नारासहित विद्यालय अघि बढेको भन्दै उनले आफ्ना विद्यार्थीको सर्वपक्षीय विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप सहित सबै किसिमका गतिविधिमा जोड दिँदै आएको उल्लेख गरे।

राष्ट्रभावले भरिएको सुन्दर स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रम अवधिभर विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध प्रस्तुतिहरू राखिएको थियो। बालबालिकाहरूले विभिन्न जातजाति, भाषा संस्कृतिको प्रतिनिधित्व गर्ने भेसभुसामा प्रस्तुत भएर आफ्ना प्रस्तुतिहरू दिइरहँदा उनीहरूका अभिभावकहरू हर्षित र उत्साहित देखिन्थे। कार्यक्रममा गायन, नृत्य, योगा, तेक्वान्दो सहित अन्य विविध मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो।

का.म.न.पा वडा न ७ का अध्यक्ष डंगोलले आफ्नो वडा भित्रको एउटा उत्कृष्ट विद्यालयले अभिभावक दिवस मनाउन लागेको भन्दै बधाई तथा शुभकामना दिए। शैक्षिक सुधारका लागि स्थानीय सरकारले बनाएका योजनाहरू प्रस्तुत गरेका उनले आफ्नो वडा भित्र भइरहेको असुविधा बारे पनि जानकार रहेको उल्लेख गरे। सुर्तीजन्य पदार्थ नियमन गर्ने ऐन कार्यान्वयन नभएको प्रति चिन्ता जाहेर गरे। त्यसका लागि विद्यालय परिसर तथा सार्वजनिक स्थलको १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन गर्नुपर्ने र यसका लागि सबैले सहयोग गर्नुपर्ने धारणा उनले राखे। काठमाडौँ महानगर भित्रका उत्कृष्ट विद्यालय छनोट गर्दा निजी तथा सामुदायिक दुवै तर्फ आफ्नो वडा भित्रका विद्यालय पर्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गरेका विद्यार्थी तथा अभिभावकहरूले क्याम्पस तहमा स्थापित नाम बनिसकेको सेन्ट लरेन्स विद्यालय तहमा पनि त्यही पहिचान कायम गर्ने गरी अगाडी बढिरहेको धारणा राखे। आजको युग सुहाउँदो शिक्षा दिनका लागि प्रयोगात्मक तथा सिपमूलक पद्धति मार्फत शिक्षण सिकाइ गर्दै अर्थपूर्ण काम विद्यालयले गरिरहेको उनीहरूको भनाई थियो। यी अभिभावक तथा विद्यार्थीहरूले सेन्ट लरेन्स स्कुलमा सिकाइको अनुभव सोचे अनुरूप भइरहेको उल्लेख गरे। कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले पनि सेन्ट लरेन्सले दिँदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गर्दै आगामी दिनमा अझै धेरै सफलताका लागि शुभकामना दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि थापाले आफ्नो छोरी सँगको एउटा अनुभव सुनाउँदै छोराछोरी हुर्काउँदा ध्यान दिनुपर्ने बताए। विद्यालय र अभिभावकको भेट निरन्तर हुनुपर्ने उल्लेख गरेका उनले प्रत्येक व्यक्तिले फरक किसिमका क्षमता प्राप्त गरेको हुने हुँदा शिक्षा त्यसैगरी दिइनुपर्ने भनाई राखे। विद्यालयले आफ्ना विद्यार्थीलाई जिन्दगीमा खुसी हुन सिकाए मात्रै उपलब्धि हुने उल्लेख गरेका उनले त्यसो हुन सके मात्रै हाम्रो शिक्षा सफल हुने बताए। बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उनले स्कुलको पनि सफलताको कामना गरे।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष केशव प्रसाद दंगालले उपस्थित सबै अतिथि तथा अभिभावकहरूलाई धन्यवाद दिए। उनले विद्यालयले संस्कार सहितको शिक्षा दिँदै आएको हुँदा आकारमा सानो भए पनि आफ्नो नारा अनुसारको काम विद्यालयले गर्दै आएको धारणा राखे। विद्यालयले प्रत्येक विद्यार्थीलाई प्रथम बनाएको उनको दाबी थियो। आफ्ना विद्यार्थीको रुचि, क्षमता र प्रतिभा अनुसारको क्षेत्रमा विद्यालयले उनीहरूलाई प्रोत्साहन गरेको हुँदा कार्यक्रममा देखिएको जस्तो कोही गायन, कोही नृत्य, कोही तेक्वान्दो, कोही वाद्यवादन तथा योगामा लाग्ने हुँदा आफ्नो क्षेत्रमा सबै प्रथम भएको उनको भनाइ थियो। सोहिकरण जुन विद्यालयले प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरे पनि सेन्ट लरेन्सले नै ट्रफी ल्याउन सफल भएको उनको दाबी थियो। उनले अभिभावकको निरन्तरको साथ सहयोगकै कारण विद्यालय आज सफलतातिर उन्मुख भएको भन्दै यो साथ निरन्तर रहने अपेक्षा सहित कार्यक्रम अन्त्य गरे।

