काठमाडौँ- गोदावरी ललितपुर स्थित बालमैत्री प्रतिष्ठान मन्टेश्वरी स्कुल तथा डे केयरले दीक्षान्त समारोह तथा अभिभावक दिवस सम्पन्न गरेको छ। शनिबार ललितपुर स्थित एक रिसोर्टमा आयोजित भव्य कार्यक्रमका बिच स्कुलले युकेजी कक्षा उत्तीर्णलाई दीक्षित गर्दै अभिभावक दिवस पनि एकसाथ मनाएको हो ।
बालमैत्री प्रतिष्ठानका अध्यक्ष पविन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा गोदावरी नगरपालिका वडा न १ र १४ तथा ललितपुर महानगरपालिका २८ र २९ का वडाध्यक्षहरू सहित अपेनका प्रतिनिधिहरू, विभिन्न मन्टेश्वरी स्कुलका प्रतिनिधिहरू तथा विद्यालयका अभिभावक, विद्यार्थी सहित शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

अनौठो तरिकाले सुरुवात गरिएको कार्यक्रमको उद्घाटन आफैँमा रोचक पक्ष बन्न पुगेको थियो। प्रमुख अतिथि कुरेर समय खेर फाल्ने हिजोआजका अधिकांश औपचारिक कार्यक्रमहरूको प्रचलन तोड्दै सबैभन्दा साना बालबालिकालाई पानसमा बत्ती बाल्न लगाएर कार्यक्रम उद्घाटन गरिएको थियो । प्रतिष्ठानका संस्थापक श्रीराम थापाको स्मरण गर्दै सुरु गरिएको कार्यक्रममा बालमैत्री १ को ११ औ तथा बालमैत्री २ (शाखा) को तेस्रो दीक्षान्त समारोह सम्पन्न गरिएको हो ।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै प्रतिष्ठानकी प्रिन्सिपल बबिता थापाले उपस्थितिका लागि सबैलाई धन्यवाद दिइन्। उनले साना साना बालबालिकालाई पूर्ण बनाउने प्रयासमा विद्यालय रहेको भन्दै कार्यक्रम अवधिभर बसेर कमी कमजोरी औँल्याइदिन अनुरोध गरिन् । बालबालिकाको भविष्यका लागि सधैँ साथ रहेर काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रम अवधिभर प्रतिष्ठानका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। विभिन्न भेसभुसामा सजिएका बालबालिकाहरूको मौलिक प्रस्तुतिहरूले विभिन्न भेसभुसा र संस्कृतिको मञ्चमा प्रतिनिधित्व गरेका थिए। त्यस्तै शाखा विस्तार गर्न योगदान गर्नेहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। प्रतिष्ठानका ४ जना शिक्षिकाहरूले गरेको सुन्दर र मनमोहक नृत्यले कार्यक्रमलाई अझै विशेष बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि महर्जनले साना साना नानीहरूलाई आफ्नै छोराछोरी सम्झेर गरेको हेरचाह र मायाका लागि शिक्षक शिक्षिका तथा विद्यालयलाई धन्यवाद दिए । मन्टेश्वरी प्रि स्कुलहरूका कारण अभिभावकहरू आजको दिनमा ढुक्कले आफ्नो कामना हिँड्न पाएको उल्लेख गरेका उनले बालबालिकालाई खुवाउन, खेलाउनका लागि मोबाइल देखाउने चलन बढेको प्रति चिन्ता व्यक्त गरे। विद्यालयको शिक्षा र सिर्जनात्मकता देखेर अभिभावकहरू सन्तुष्ट भएको आफूले पाएको धारणा राखेका उनले असल नागरिक बनाउनका लागि विद्यालय सहित परिवारले पनि समय दिनु जरुरी भएको भनाइ राखे ।

कार्यक्रम समापन गर्दै सभापति थापाले कार्यक्रम सफल बनाउन लागिपर्ने सबैलाई धन्यवाद दिए। उनले मन्टेश्वरी प्रि स्कुलहरूको समस्यालाई अपेन मार्फत नगरमा ज्ञापन पत्र बुझाइएको हुँदा त्यसलाई बुझिदिन नगर प्रमुखलाई अनुरोध गरे। खासगरी नगर शिक्षा समितिको बैठकहरूमा अपेनको पनि प्रतिनिधित्व गराइनुपर्ने उनको माग थियो। अभिभावकहरूको साथ र सहयोगकै कारण आजको स्थानमा विद्यालय आइपुगेको उल्लेख गरेका उनले आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको भन्दै कार्यक्रम समापन गरे।
