काठमाडौँ- तारकेश्वर स्थित एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स किड्स मन्टेश्वरीको अभिभावक दिवस सम्पन्न सम्पन्न भएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच स्कुलले अभिभावक दिवस मनाएको हो । एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका अध्यक्ष लिल बहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, शिक्षाकर्मी तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू अतिथिका रूपमा रहँदा विद्यालयका प्रशासक, शिक्षक/शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो।


कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै इसिडि क्षेत्रकि वरिष्ठ प्रशिक्षक तथा विद्यालयकी ‘एकेडेमिक डिरेक्टर’ रेखा शाही हमालले अभिभावकहरूको निरन्तरको सल्लाह, सुझाव तथा साथ सहयोगले विद्यालय आजको स्थानसम्म आइपुगेको धारणा राखिन्। आगामी दिनमा पनि अभिभावक बाट यस्तै साथ सहयोगको अपेक्षा विद्यालय प्रशासनले गरेको भन्दै उनले बालबालिकाको सुन्दर भविष्यको मार्गचित्र निर्माणका लागि सधैँ सँगै हातेमालो गर्नका लागि अपिल गरिन्।
विद्यालयका प्रिन्सिपल टक बहादुर थापाले नम्बर प्राप्त गर्ने भन्दा ज्ञान, सिप प्राप्त गर्ने शिक्षा विद्यालयले दिँदै आएको बताए। आगामी दिनका लागि चाहिने जनशक्ति निर्माणका लागि योजना बनाएर व्यवहारिक शिक्षा प्रदान गर्न लागिपरेको भन्दै उनले यो क्रम निरन्तर चल्ने उदघोस गरे। समाजमा भइरहेको गतिविधिलाई स्वीकार गर्दै त्यसलाई अझै राम्रो बनाउन तिर लाग्नु विद्यालयको उद्देश्य रहेको उल्लेख गरेका उनले सिद्धान्त पढाउने भन्दा त्यसको प्रयोगको पक्षमा विद्यालयले ध्यान दिने गरेको बताए। आफ्ना विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न गतिविधि गर्दै आएको उनको भनाइ थियो।


कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले विद्यालयले दिँदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि महर्जनले आमन्त्रणका लागि विद्यालयलाई धन्यवाद दिँदै विद्यालयले शिक्षा सँगै प्रतिभा विकासमा जोड दिएको देखेर आफूलाई खुसी लागेको बताए। विशेष गरी अभिभावक दिवसका अवसरमा विद्यार्थीले मञ्चमा देखाएका प्रतिभाको खुलेर तारिफ गरेका उनले विभिन्न भूगोल र संस्कृतिको प्रतिनिधित्व विद्यार्थीले गरेको उल्लेख गरे। आफूले राष्ट्रनिर्माण गर्नसक्ने जनशक्ति कार्यक्रममै देखेको भन्दै त्यसको थप विकासका लागि काम गर्न विद्यालयलाई उनले सुझाव दिए। नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका प्रगति र आगामी योजनाको फेहरिस्त प्रस्तुत गरेका उनले सामुदायिक र संस्थागत विद्यालय बिचको भेदभाव हटाइनुपर्ने बताए।
कार्यक्रम समापन गर्दै सभापति पुनले विद्यार्थी र अभिभावकको ऊर्जाले कार्यक्रम सफल भएको बताए। संस्कृत भनाइ सहित शिक्षाको महत्त्वको चर्चा गरेका उनले विद्यालय प्रति विश्वास गर्ने सबै अभिभावकलाई धन्यवाद दिए। देशको भविष्य निर्माणका लागि देशभर विभिन्न गतिविधि भइरहेको र अभिभावक दिवस त्यसैको एउटा स्वरूप भएको भन्दै उपस्थित सबैलाई आभार सहित उनले कार्यक्रम अन्त्य गरे।
कार्यक्रम अवधिभर विद्यार्थीहरूले विभिन्न रोचक प्रस्तुतिहरू दिएका थिए।
तपाईँ यहाँ क्लिक गरेर मात्र एजुकेसनले कार्यक्रममा खिचेका थप तस्बिरहरू हेर्न सक्नुहुन्छ।