काठमाडौँ- (मण्टेश्वरी) तथा प्रि(स्कुलहरूको छाता सङ्गठन अपेन बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा अपेन किडएथ्लन २०७९ सम्पन्न भएको छ । ३ दिन सम्म सञ्चालन भएको कार्यक्रम चुनिखेल स्थित भद्रकाली फुटसलमा सम्पन्न भएको हो ।
अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। कार्यक्रममा अपेन बुढानीलकण्ठका पदाधिकारीहरू सहित २५ वटा सदस्य विद्यालयका शिक्षक विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले खेल कार्यक्रम आयोजना गरेकोमा अपेन बुढानीलकण्ठ, आयोजक टिम लगायत सबैलाई विशेष धन्यवाद दिँदै शिक्षा, संस्कृति, स्वास्थ्य र स्वरोजगार यी चार वटा महत्त्वपूर्ण कुराहरूलाई प्राथमिकतामा राखेर आफूले बुढानीलकण्ठ नगरपालिकामा काम गर्ने बताइन् ।

बुढानीलकण्ठ नगरपालिकाको उपमेयर हुनु भन्दा अघि पनि आफूले अभियानकै रूपमा सामाजिक कामहरूमा उत्तरदायित्व बहन गरेको र आफू उपमेयर पदमा रहे पनि नरहे पनि बालबालिकाहरूको हकहितमा सदैव काम गर्ने बताउँदै उनले समुन्नत समाज निर्माणको लागि भविष्यका कर्णधार मानिएका बालबालिकाहरूको लागि आर्थिक, सामाजिक सहयोग गर्ने बताइन् । बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा लागि यस्ता खेलहरू बेला बेलामा आयोजना गरिनुपर्ने उनको धारणा थियो।
त्यस्तै कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति राजकुमार घिमिरेले कार्यक्रम सफल बनाउनका लागि अहोरात्र खटेका सदस्यहरूको मेहनत मज्जाले देखिएको भन्दै त्यसका लागि धन्यवाद दिए । विभिन्न खेलकुदमा सहभागी भई विजयी हुने विद्यार्थी भाइबहिनीहरूको टिम लाई बधाई दिँदै सभापति घिमिरेले खेलकुद सत्रको अन्त्य भएको घोषणा गरे।
