Matra Education आइतबार, साउन १० २०८३

टेक्सस इन्टरनेसनल कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न

टेक्सस इन्टरनेसनल कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, फाल्गुन २० २०७९


काठमाडौँ- चाबहिलको टेक्सस इन्टरनेसनल कलेजले स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार गौशालाको अनुपम फुडल्याण्डमा आयोजित एक कार्यक्रमका बिच टेक्ससले बिबिएस प्रथम वर्ष तथा बिएसडब्लु प्रथम वर्षलाई स्वागत गरेको हो । त्यस्तै टेक्सस बाट आफ्नो अध्ययन पूरा गरेका बिबिएस चौथो वर्षका विद्यार्थीलाई कलेजले अभिनन्दन गरेको हो। कार्यक्रममा विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक कार्यक्रम र स्वागत बिदाइ सहितको औपचारिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका थिए ।

टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष प्रा. डा. केशव कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आध्यात्मिक चिन्तक, पूर्वीय दर्शनका ज्ञाता चिन्तामणि योगी प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन प्रा. डा. कुसुम शाक्य विशेष अतिथिका रूपमा रहेकी थिइन्। त्यस्तै टेक्ससका ‘चिफ अफ एकेडेमिक्स’ प्रा. डा. गोविन्द प्रसाद आचार्य, सिइयो भेस राज पोखरेल, स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ सहित विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो। कार्यक्रममा टेक्ससका प्राध्यापक, विद्यार्थीका अलावा अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रम बारे जानकारी गराए । विद्यार्थीको सफलता र सारथि बन्नका लागि टेक्सस टिम सधैँ तत्पर रहेको भन्दै प्रमाणपत्र मात्रै दिने भन्दा पनि सीप र क्षमता विकास गरेर बजारको आवश्यकता सुहाउँदो जनशक्ति उत्पादन गर्नमा टेक्सस केन्द्रित रहेको उनको भनाइ थियो। विद्यार्थीले नजितेसम्म आफूहरूले जित्न नसक्ने भन्दै उनले आफ्नो जीवनको जिम्मेवारी आफैँ लिएर निरन्तर अघि बढ्न सुझाव दिए।

कार्यक्रम सञ्चालक तथा टेक्ससका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कार्यक्रम मार्फत स्वागत बिदाइ मात्रै गर्ने भन्दा पनि विद्यार्थीको भावी जीवनका लागि केही महत्त्वपूर्ण खुराक पनि दिने प्रयास रहेको बताए । त्यस्तै टेक्ससले हलबाट मात्र आफ्ना विद्यार्थीलाई बिदाइ गर्ने उनको भनाइ थियो ।

त्यस्तै टेक्सस इन्टरनेसनल कलेजका प्रिन्सिपल भेस राज पोखरेलले कलेजले ज्ञानको दायरालाई कक्षाकोठाको ४ भित्ता र पाठ्यपुस्तकको दुई पानामा सीमित राख्ने चलनको अन्त्य गरेको बताए। नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनले जीवनको लक्ष्य तय गरेर त्यसलाई भेट्ने गरी लाग्न सुझाव दिए। कलेजले एउटा प्रमाणपत्र थप्ने नभई केही मूल्य मान्यताहरू स्थापित गर्ने र भविष्य निर्माणको आधार दिने उल्लेख गरेका उनले सिकेका ज्ञानहरू जीवनमा प्रयोग गर्न विद्यार्थीलाई अनुरोध गर्दै आगामी जीवनका लागि शुभकामना दिए । उनले बि.एस.डब्लु. लाई सेमेस्टर प्रणालीमा लगेर व्यवस्थित गर्न पनि डिन शाक्यलाई अनुरोध गरे।

कार्यक्रमकी विशेष अतिथि शाक्यले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै धन्यवाद दिइन् । आउने र जाने मानव जीवनको प्राकृतिक पाटो भएकाले विश्वविद्यालयका तर्फबाट समेत नव आगन्तुकलाई उनले स्वागत गरिन् । आफ्नो कोर्स पूरा गरेर बिदाइ हुँदै गरेका विद्यार्थीलाई जीवनको परीक्षा सुरु हुन लागेकाले त्यसका लागि समेत तयार रहन उनको सुझाव थियो । व्यस्तताका कारण पुरा समय बस्न नपाएकोमा क्षमायाचना गर्दा उनले बि.एस.डब्लु. लाई छुट्टै कोर्स बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा बोलेका विभिन्न तहका विद्यार्थीहरूले टेक्सस कलेज सँगको यात्रा र छान्नुको कारणबारे आफ्नो धारणा राखेका थिए। अध्ययन पुरा गरेका विद्यार्थीहरूले कलेजमा छिरेको पहिलो दिन देखि आजसम्म टेक्ससले आफ्ना सबै अपेक्षाहरू पूरा गरेको बताए। त्यस्तै फेयरवेल पछि पनि कलेजले आफ्नो ब्याचका साथीहरूको लागि वर्कसप आयोजना गर्ने योजना बनाएको भन्दै उनीहरूले कलेजमा पढुन्जेल मात्रै नभई आफ्नो त्यसपछिको करियरका लागि पनि टेक्ससले योगदान गरेको बताए। टेक्सस आउने विद्यार्थीलाई गुनासो गर्ने कुनै पनि मौका कलेजले नदिने उनीहरूको दाबी थियो।

कार्यक्रमलाई अझै बढी रोचक र उत्प्रेरक बनाएका प्रमुख अतिथि योगीले करिब ४५ मिनेट विद्यार्थीलाई अर्थपूर्ण उत्प्रेरणा दिए। उनले आफूले विश्व भ्रमण गरेको भए पनि टेक्ससलाई बढी सम्झने गरेको उनले बताए। आफूले आफूलाई प्रमाणित गर्न नसके सम्म प्रमाणपत्रको थुप्रोले केही फरक नपर्ने भन्दै उनले आजका विद्यार्थीलाई स्वागत गर्न दुनियाँ तयार भएको हुँदा आफू सक्षम बन्नुपर्ने उल्लेख गरे। आफ्नो बाल्यकाल र पहिलो काठमाडौँ यात्राको स्मरण गर्दै आजका विद्यार्थीलाई सकारात्मक सोच राखेर अघि बढे सबैतिर अवसर रहेको बताएका उनले विद्यार्थीलाई संस्कार नभुल्न अनुरोध गरे। आजका विद्यार्थीले म कति खुसी छु?, म कति सकारात्मक छु?, म कति राम्रो व्यवहार गर्छु?, म कस्तो दृष्टिकोण बनाउँछु ? लगायत प्रश्न दैनिक आफैँलाई सोध्ने हो भने सफल हुन सक्ने उनको भनाई थियो। आफ्नो मन्तव्य भर उपस्थित सबैमा ऊर्जाको सञ्चार गराउन उनी सफल भए।

कार्यक्रमका अन्य वक्ताहरूले समेत टेक्सस छनोट गरेर आएका विद्यार्थीको यो उत्कृष्ट छनोट हुने भन्दै बधाई तथा शुभकामना दिएका थिए । विद्यार्थीहरूले अनौपचारिक सत्रमा आफ्ना विविध प्रतिभाहरू मार्फत उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्ना विद्यार्थीलाई आगामी जीवनका लागि शुभकामना दिए । आफूहरूले बिदाइ हुँदै गरेका विद्यार्थीलाई राम्रै गर्न सक्यौँ होला भन्ने लागेकाले उनीहरूको आगामी भविष्य पनि राम्रो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड