काठमाडौँ- मण्टेश्वरी तथा प्रि-स्कुलहरूको छाता संगठन अपेनको बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा अपेन किडएथ्लन २०७९ को सुरुवात भएको छ । आगामी ३ दिन सम्म चल्ने कार्यक्रमको चुनिखेल स्थित भद्रकाली फुटसलमा आयोजित एक औपचारिक कार्यक्रम बिच उद्घाटन गरिएको हो ।
अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ललित विक्रम सिंह प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अपेन बुढानीलकण्ठका पदाधिकारीहरू सहित २५ वटा सदस्य विद्यालयका शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै अपेन किडएथ्लन २०७९ कार्यक्रमकी संयोजक निरु भण्डारीले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन्। उनले खेलकुद सिकाइको उच्चतम रूप भएको हुँदा कार्यक्रम पनि सिकाइको एक प्रक्रिया भएको उल्लेख गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि सिंहले अपेन बुढानीलकण्ठले बालबालिकाको क्षेत्रमा निकै राम्रो काम गरिरहेको धारणा राखे । नगर भित्रको शैक्षिक उन्नयन र विकासका लागि अपेनले पुर्याएको योगदानको नगरपालिकाले मुक्त कण्ठले प्रशंसा गर्ने भन्दै उनले विद्यालय शिक्षाको आधार प्रि-स्कुल भएको बताए । बालबालिकाको सर्वपक्षीय विकासमा केन्द्रित प्रि स्कुलहरूलाई भुसको आगो जस्तै फैलिरहेको पत्रु खाना (जंक फुड) को व्यापक प्रयोगबारे जनचेतना जगाउन उनले अपिल गरे। नगरपालिकाले प्रि स्कुलका लागि योजना बनाउँदै गरेको भन्दै उनले त्यसमा अपेनको पनि सुझाव लिने घोषणा गर्दै कार्यक्रम सफलताको शुभकामना दिए।
औपचारिक कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति राजकुमार घिमिरेले कार्यक्रम सफल बनाउनका लागि अहोरात्र खटेका सदस्यहरूको मेहनत मज्जाले देखिएको भन्दै त्यसका लागि धन्यवाद दिए । बोल्ने भन्दा पनि रमाइलो गर्ने कार्यक्रमका रूपमा कार्यक्रम आयोजना गरिएको भन्दै उनले सबै प्रतिस्पर्धी टिमलाई शुभकामना दिँदै औपचारिक सत्र अन्त्य र खेलकुद सत्र सुरुवातको घोषणा गरे।
आज केही खेलहरूको प्रतिस्पर्धा भएको छ भने भोलि र पर्सि पनि विभिन्न खेलहरू सञ्चालन हुनेछन् ।