काठमाडौँ- सेन्ट लरेन्स कलेज, चाबहिलले मानव सेवा आश्रमलाई सहयोग गरेको छ । गत शनिबार न्यानो कपडा तथा शैक्षिक सामग्री बोकेर राजधानीको सामाखुसीमा रहेको मानव सेवा आश्रममा पुगेको कलेजले ‘लायन्स क्लब अफ काठमाडौँ युनाइटेड’ सँगको सहकार्यमा सहयोग प्रदान गरेको हो। भोजन वितरण तथा ज्येष्ठ नागरिक सम्मान नाम दिइएको उक्त कार्यक्रम सेन्ट लरेन्स सोसियल क्लबको सक्रियतामा सम्पन्न भएको थियो।
सहयोग कार्यक्रममा ज्येष्ठ नागरिक आमाहरूको लागि न्यानो ओढ्ने पछ्यौरा र अनाथ बालबालिकाहरूको लागि कापी कलम लगायत स्टेशनरी सामानहरू वितरण गरिएको सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले मात्र एजुकेसनलाई जानकारी दिए।
“ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई अरूलाई भन्दा बढी माया, ममता, स्याहार सुसार चाहिने हुन्छ” । उनले भने “आमाबुबा गुमाएका बालबालिकाहरू र सहारा चाहिने बेलामा झन् बेसहारा भएका ज्येष्ठ नागरिकहरूको अवस्था के कस्तो छ बुझ्न र कलेजले सकेको सहयोग गर्न हामी मानव सेवा आश्रम पुगेका हौँ “।
आफ्ना विद्यार्थीहरूमा सहयोगको भावना जागृत गराउनका लागि तथा परिवारमा ठुलालाई सदैव सम्मान र सानालाई माया गर्नुपर्छ भन्ने सिकाउन लागि कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्ने गरेको उनको भनाई थियो।

