Matra Education आइतबार, साउन १० २०८३

राष्ट्रिय परीक्षा बोर्डले ल्यायो विद्यार्थीहरूको लागि खुसीको खबर

राष्ट्रिय परीक्षा बोर्डले ल्यायो विद्यार्थीहरूको लागि खुसीको खबर

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन १५ २०७९


फाइल तस्बिर

काठमाडौँ- सामान्यतया परीक्षा भन्ने बित्तिकै विद्यार्थीहरूको मनमा एक किसिमको डर पैदा हुने गरेको पाइन्छ । आफूले जानेको विषयमा नै किन नहोस् परीक्षा छ भन्ने सम्झने बित्तिकै जानेको कुराहरू पनि लेख्न पर्‍यो भने हडबडाउने, आत्तिएर लेख्ने र परीक्षामा सोचेको जस्तो नतिजा नआउने भइरहेको हुन्छ । अब विद्यार्थीहरूको तिनै डरलाई कम गर्न आगामी शैक्षिक सत्रदेखि राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ ।

बोर्डले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको हो । आगामी शैक्षिक सत्र देखि परीक्षण (ट्रायल) को रूपमा केही पालिकाहरूमा यो प्रणाली जारी हुने भएको छ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले स्थानीय पालिकाहरूसँग सहकार्य गरेर तयारी थालेको जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले आधारभूत तहको सन्दर्भमा विभिन्न पालिकाहरूमा अहिले प्रशिक्षक (ट्रेनर) हरू तयार पारिएको बताए । उनीहरूले आफ्नो पालिकाहरूमा स्तरीकृत परीक्षा सञ्चालनका लागि तयारी गर्नेछन् । यसलाई अहिले अभ्यासका रूपमा लिन खोजिएको शर्माको भनाई छ । यो परीक्षा प्रणालीमा स्थानीय पालिकाहरूमा प्रश्न पत्रको प्रश्न बैङ्क स्थापना गरिनेछ । सोही आधारमा त्यही प्रश्न बैङ्कबाट विद्यार्थीलाई प्रश्न सोधिनेछ । विद्यार्थीलाई कुनै प्रश्न गाह्रो लाग्यो भने त्यसको ठाउँमा अर्को प्रश्न राखिने उनले बताएका छन् ।

‘स्तरीकृत परीक्षा र अन्य परीक्षामा कुनै फरक छैन । यो भनेको परीक्षालाई स्तरीय बनाउने भनेको हो,’ शर्माले भने । देशभर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाई एउटै भए पनि परीक्षा भने फरक खालको भइरहेको छ’, उनले भने । ‘एउटै शिक्षण सिकाइबाट हुने परीक्षा फरक फरक किन हुने र एउटै पढाइमा पनि फरक फरक क्षेत्रबाट फरक फरक खालको नतिजा आउने गरेकोले यस्तो अवस्था नहोस् भनेर स्तरीकृत परीक्षा गर्न खोजिएको हो ।’ प्रश्न पत्र विद्यार्थीले पढेको र उनीहरूलाई सजिलो बनाउने खालको हुने उनको भनाइ छ । ‘प्रश्न पत्रहरू पहिले नै परिक्षण (टेस्ट) गरिन्छन् । त्यो विद्यार्थीलाई सजिलो लागेन भने अर्को प्रश्न पत्र दिइन्छ । यदि त्यसमा कुनै अप्ठ्यारो प्रश्न भयो भने अर्को प्रश्न पत्र हुन्छ त्यहीबाट परीक्षा लिइने हो ।’ अध्यक्ष शर्माले भने ।

विद्यार्थीले कहिल्यै नसिकेको, नजानेको, नसुनेको, अप्ठ्यारो प्रश्न पत्र नसोधी साधारण र सामान्य खालको प्रश्न पत्र हुनेछन् । परीक्षा भन्ने बित्तिकै विद्यार्थीहरू आत्तिने, त्रसित हुने, हाउगुजीको रूपमा लिने, मानसिक तनाव लिने भएकाले यसको उद्देश्य भनेको विद्यार्थीहरूलाई यी यावत् तनावबाट मुक्त गराई सजिलो,सामान्य, दैनिक जीवनमा सुन्दै, भोग्दै, पढ्दै आएका सजिला प्रश्नहरू सोधी धेरै भन्दा धेरै विद्यार्थीलाई परीक्षामा सफल गराउन र परीक्षा भन्ने बित्तिकै विद्यार्थीमा डराउनुपर्ने वातावरण नआओस् भन्ने बनाउन यो प्रणाली ल्याइएको हो । यसले गर्दा विद्यार्थीले जबरजस्ती घोकेर पढ्नुपर्ने र परीक्षामा मात्र केन्द्रित भएर पढ्ने पद्धतिको अन्त्य हुने आशा र विश्वास बोर्डले लिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड