काठमाडौँ- सरस्वतीनगर, चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले आयोजना गरेको विज्ञान प्रदर्शनी मेला सम्पन्न भएको छ। शनिवार सुरु भएको मेलाको आइतबार एक औपचारिक कार्यक्रम गर्दै समापन गरिएको हो। मेलामा १७ वटा विज्ञान सम्बन्धी स्टलहरू तथा ४ वटा सूचना प्रविधि सम्बन्धी स्टलहरूमा प्रदर्शन गरिएको थियो। त्यस बाहेक ‘आर्ट’ ‘फेस पेन्टिङ’ तथा फुड स्टलहरू पनि कार्यक्रमको आकर्षणको रूपमा रहेका थिए।
विद्यार्थीहरूको प्रतिभालाई उजागर गरी उनीहरूलाई राष्ट्रको असल अनि सभ्य नागरिक बनाउने रिलायन्सको उद्देश्य रहेको र सोही अनुरूप पठनपाठन सँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई अघि बढाउने क्रममा प्रदर्शनी मेला आयोजना गरिएको रिलायन्स प्रशासनले जनाएको छ। सिकाई प्रणालीमा सृजनशीलता ल्याउँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित उक्त विज्ञान प्रदर्शनीमा करिब ५००० विद्यार्थीहरू लाभान्वित भएको एकेडेमीको दाबी छ।
रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक राजु कुमार सिवाकोटीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा न ७ का अध्यक्ष विमल कुमार होडा प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू सहित शिक्षा क्षेत्रका स्थापित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने रिलायन्सका विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
कलेजका सञ्चालक तथा संस्कृति विभाग प्रमुख दामोदर निरौलाले २ मिनेटको ध्यान गराई कार्यक्रम सुरुवात गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिलाई सम्बोधन गर्दै शैक्षिक अतिरिक्त क्रियाकलाप संयोजक गोविन्द ढकालले प्रदर्शन सफल गराउने भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि होडाले रिलायन्स कलेजले शैक्षिक र अतिरिक्त क्रियाकलापलाई उत्तिकै महत्त्व दिँदा यो कलेज प्रति विद्यार्थीको आकर्षण बढेको भदै गुणस्तरको आफ्नो पहिचान निरन्तर बनाइराख्न सुझाव दिए।
कार्यक्रम समापन गर्दै सभापति सिवाकोटीले रिलायन्स कलेजले अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिँदै आएको उल्लेख गरे। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उस्तै साथ, सहयोग र हौसलाको अपेक्षा संस्थाले गरेको बताए।
समापन कार्यक्रममा उत्कृष्ट प्रदर्शनीलाई पुरस्कृत गरिएको थियो भने नृत्य पनि प्रस्तुत गरिएको थियो।
चाबहिलमा अवस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी काठमाडौँ उपत्यकाकै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा रहेको छ।

