Matra Education आइतबार, साउन १० २०८३

शैक्षिक निकायबिच तालमेल नहुँदा एकै समयमा शिक्षक र विद्यार्थीको परीक्षा

शैक्षिक निकायबिच तालमेल नहुँदा एकै समयमा शिक्षक र विद्यार्थीको परीक्षा

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन १४ २०७९


काठमाडौँ- हाम्रा सरकारी निकायहरूबिच तालमेल र सहकार्य नहुनु कुनै नौलो कुरा होइन, चाहे शिक्षा क्षेत्रमा होस् वा पूर्वाधार विकासका क्षेत्रमा । आपसी समन्वय बाट गर्न सकिने र हुने कतिपय कामहरू पनि लथालिङ्ग अवस्थामा रहेको कुरा हामीमाझ सर्वविदितै छ। फेरि शिक्षा क्षेत्रमा त्यस्तै एउटा असहज अवस्था उत्पन्न हुन लागेको छ ।

विद्यार्थीहरूका लागि निकै महत्त्वपूर्ण मानिएको कक्षा १० को एसइई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि सञ्चालन गर्दै छ भने परीक्षाको सञ्चालनको लागि महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका शिक्षकहरूको परीक्षा पनि शिक्षक सेवा आयोगले एसइई भोलिपल्टै अर्थात् चैत १८ गते शनिवार नै गर्ने भएको छ ।

शिक्षक सेवा आयोगले माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा सञ्चालन गर्दै छ । जसले गर्दा शिक्षक र बिद्यार्थीहरुको परीक्षा एकै समयमा पर्ने भएको छ । जसका कारण विद्यार्थी र शिक्षक दुवैको परीक्षामा समस्या सिर्जना हुन लागेको देखिन्छ । यी दुवै परीक्षा एकै समयमा सञ्चालन हुने भएपछि यति बेला शिक्षकहरू निकै तनावमा छन् । आफ्नै परीक्षाको तयारीमा लाग्ने कि विद्यार्थीको परीक्षा सञ्चालनमा गर्न जुट्ने अलमल्लमा परेका छन् शिक्षकहरू यतिबेला ।

कक्षा १० को एसइई परीक्षा सञ्चालन गर्ने सबैभन्दा मुख्य जिम्मेवारी शिक्षककै काँधमा थोपरिएको हुन्छ । परीक्षाको केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परीक्षा निरीक्षक, प्रश्न पत्र तथा उत्तर पुस्तिका वितरण र सङ्कलनको काम पनि शिक्षकहरूको नै जिम्मेवारीमा पर्दछ । जसका लागि परीक्षा सुरु हुनुभन्दा साता, दश दिन अघि देखि नै शिक्षकहरू तीव्र तयारीमा जुट्नुपर्ने हुन्छ । एकातिर विद्यार्थीहरूको परीक्षा लिनुपर्ने र अर्को तिर आफैले परीक्षा दिनुपर्ने अप्ठ्यारो परिस्थितिका बिच गुज्रिरहेका छन् शिक्षकहरू ।

यसै सन्दर्भमा काठमाडौँका एक सामुदायिक विद्यालयका शिक्षकले हामी सँग गुनासो पोख्दै भने “विद्यार्थीको भविष्यसँग जोडिएको एसइईलाई राम्रो वातावरणमा सञ्चालन गर्नेतर्फ लाग्ने कि आफ्नै भविष्यको गोरेटो निर्धारण गर्ने स्थायी शिक्षक नियुक्तिसम्बन्धी परीक्षामा लाग्नेरु” उनले भने- “दुवै परीक्षा उत्तिकै महत्त्वपूर्ण भएकाले परीक्षा बोर्ड र आयोगले एकापसमा छलफल गरेर दुईमध्ये एउटा परीक्षा स्थगित गर्नुपर्छ ।”

परीक्षा लिने र परीक्षा दिने तनावकाबीच सञ्चालन हुने यी दुवै परीक्षा व्यवस्थित,मर्यादित र स्वच्छ रूपमा सञ्चालन गर्न कठिनाइ उत्पन्न हुने कतिपय शिक्षकहरूको धारणा छ । यी यावत् समस्या र झन्झटका बिचमा पनि शिक्षक सेवा आयोगले भने चैत १८ गते तोकिएको परीक्षा तालिका आफूहरूले एसइईको परीक्षा तालिका भन्दा पहिले नै सार्वजनिक गरेको भन्दै अड्को थापिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड र शिक्षक सेवा आयोग बिच सहमति र सहकार्य नहुँदा बिद्यार्थीहरुको उच्च शैक्षिक गन्तव्य सँग जोडिएको एसइई परीक्षा सञ्चालन गर्ने कि आफ्नै भविष्यको निर्धारण गर्ने भनेर यति बेला शिक्षकहरू दोधारमा परेका छन् । दुवै विषय शैक्षिक भविष्य निर्माण गर्ने सँग सम्बन्धित भएकाले हामीले आशा गरौँ यी दुई शैक्षिक निकाय बिच आपसी समन्वयमा एउटा ठोस निर्णय निक्लनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड