Matra Education आइतबार, साउन १० २०८३

भव्य कार्यक्रम सहित लिटिल रोज मन्टेश्वरीको अभिभावक दिवस सम्पन्न

भव्य कार्यक्रम सहित लिटिल रोज मन्टेश्वरीको अभिभावक दिवस सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन १४ २०७९


काठमाडौँ- टोखा स्थित लिटिल रोज मन्टेश्वरी स्कुलले अभिभावक दिवस सम्पन्न गरेको छ। शनिबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो। एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।

लिटिल रोज मन्टेश्वरी स्कुलकी प्रधानाध्यापक रेणुका कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी अधिकृत विजया भट्टराई प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। कार्यक्रममा अतिथिका रूपमा जनप्रतिनिधिहरू, मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन अपेनका केन्द्रीय तथा स्थानीय तहका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै लिटिल रोजका कोअर्डिनेटर नवीन बस्यालले विद्यालय प्रशासनको गुणस्तरीय शिक्षा प्रदान गर्ने संकल्पमा अभिभावकहरूको साथ सहयोग मिल्दा विद्यालय आजको अवस्थामा आइपुगेको बताए। उनले निरन्तर यस्तै सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरे।

सरस्वती वन्दना र स्वागत गीत बाट सुरु भएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत लिटल रोजले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । स- साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य, कविता, रिले गायन, वक्तृत्वकला आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे।

 

कार्यक्रमकी प्रमुख अतिथि भट्टराईले आमन्त्रणका लागि धन्यवाद दिँदै विद्यालयले उत्कृष्ट रूपमा आफूलाई प्रस्तुत गर्दै आएको उल्लेख गरिन्। स- साना बालबालिकाले दिएको प्रस्तुति आफ्नो अपेक्षा भन्दा निकै माथिल्लो स्तरको भएको भन्दै लिटिल रोजले सानै देखि बालबालिकालाई व्यवहारिक र सिपमूलक शिक्षा दिँदैछ भन्ने कुराको प्रमाण प्रस्तुतिहरूले दिएको उल्लेख गरिन्। उनले नगरपालिका भित्रका बालबालिकाको हितका लागि सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै आगामी दिनमा पनि सँगै हुने प्रतिबद्धता व्यक्त गरिन्। भट्टराईले विद्यालयको अझै धेरै प्रगति होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले लिटिल रोजले दिँदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गरेका थिए।

कार्यक्रम अवधिभर विद्यार्थीहरूले दिएको विभिन्न रोचक प्रस्तुतिहरूले कार्यक्रमलाई हेर्नलायक बनाएको थियो।

कार्यक्रम समापन गर्दै लिटिल रोजकी प्रधानाध्यापक कोइरालाले उपस्थित अतिथिलाई धन्यवाद दिइन् । उनले सबैको साथ, सहयोगका कारण विद्यालय आफ्नो क्षेत्रमा स्थापित हुन सफल भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आफूहरूको बाचा जस्तोसुकै परिस्थितिमा पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

तपाईँ यहाँ क्लिक गरेर मात्र एजुकेसनले कार्यक्रम अवधिभर खिचेका थप तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड