Matra Education आइतबार, साउन १० २०८३

बालबालिकाहरूको उत्साहजनक सहभागितामा अपेन टोखा महोत्सव सम्पन्न

बालबालिकाहरूको उत्साहजनक सहभागितामा अपेन टोखा महोत्सव सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन ७ २०७९


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन अपेनको टोखा नगर कमिटीले आयोजना गरेको अपेन टोखा महोत्सव सम्पन्न भएको छ। आइतबार टोखा स्थित भुतखेल फुटबल मैदानमा आयोजित मेला बालबालिकाहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो । कार्यक्रममा प्रिस्कुल पढ्ने उमेरका बालबालिका तथा उनीहरूका अभिभावकहरूका लागि विभिन्न खानपिन, मनोरञ्जन तथा खेलकुदका स्टलहरू राखिएको थियो । अपेन टोखाका १८ वटा मन्टेश्वरी स्कुलहरूको सहभागिता कार्यक्रममा रहेको थियो ।

दिनभर मनोरञ्जनका लागि खुला गरिएको महोत्सवमा छोटो औपचारिक कार्यक्रम पनि आयोजना गरिएको थियो। अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त औपचारिक सत्रमा टोखा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम प्रमुख अतिथिका रूपमा रहेका थिए । त्यस्तै अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहरा सहित अपेनका केन्द्रीय पदाधिकारीहरू विशेष अतिथिका रूपमा रहँदा स्थानीय कमिटी तथा अपेन सम्बद्ध अन्य शैक्षिक व्यक्तिहरू अतिथिका रूपमा रहेका थिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै अपेन टोखाकी वरिष्ठ उपाध्यक्ष संगीता दुवाडीले बालबालिकाको हकहितका लागि अपेन टोखाले विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गरिन् । उनले एकताको शक्ति बारे कविता वाचन गर्दै अपेनमा आबद्ध भएर एकीकृत हुँदै महत्त्वपूर्ण कामहरू गर्न सक्दा सन्तोष मिलेको भाव व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहराले अपेनले विभिन्न फरक किसिमका कार्यक्रम आयोजना गर्दै आएको र कार्यक्रम त्यसैको निरन्तरता भएको बताए । उपस्थित अतिथि तथा अभिभावकलाई सबै सँग रमाउँदै महोत्सवको मज्जा लिन उनले अनुरोध गरे । सुन्दर र अर्थपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै अपेन केन्द्रको तर्फबाट उनले आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि गौतमले बालबालिकाको रहर उजार गर्न अभिभावक सहित कार्यक्रम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । आजको समयमा पढाइमा मात्रै केन्द्रित भएर अपेक्षित उपलब्धि हासिल हुन नसक्ने भन्दै उनले बालमैत्री क्रियाकलाप गर्न र उनीहरूको मनोभाव अनि प्रतिभा बुझ्न सक्ने शिक्षा प्रणाली निर्माणमा जोड दिए । मन्टेश्वरी स्कुलहरूले स्थानीय सरकार बाट अनुमति प्राप्त गरे मात्रै आफ्नो अधिकार प्राप्त गर्ने हुँदा त्यसमा लाग्न उनले अपेन सदस्य विद्यालयहरूलाई आग्रह गरे। उनले एउटै विद्यालयमा सबै तह पढाउने भन्दा निश्चित तहका लागि मात्रै सरकारले अनुमति दिनुपर्नेमा जोड दिए। समाजले बालबालिकालाई बढी महत्त्व दिए मात्र सक्षम र प्रतिस्पर्धी नागरिक उत्पादन हुन सक्ने उनको भनाइ थियो।

औपचारिक सत्र समापन गर्दै सभापति त्रिपाठीले हरेक कार्यक्रमका आफ्नै विशेषता र उद्देश्य हुने हुँदा कार्यक्रमको गाली र ताली दुबैका लागि अपेन टोखा तयार रहेको बताइन् । उनले औपचारिक भन्दा बढी रमाइलो गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिन अनुरोध गरिन् । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने र उपस्थित हुने सबैलाई धन्यवाद दिँदै उनले औपचारिक सत्र अन्त्य गरिन् ।

अपराह्न ४ बजेसम्म चलेको महोत्सवमा राखिएका स्टलहरूमा व्यस्त बालबालिका कार्यक्रम अवधिभर उत्साहित देखिन्थे ।

तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड