काठमाडौँ- कलंकी स्थित सौगात मन्टेश्वरि स्कुलको आयोजनामा सौगात आइकन २०७९ सम्पन्न भएको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित ग्राण्ड फिनाले सम्पन्न भए सँगै श्रीशु थापा र मायांक लामा सौगात आइकन २०७९ बन्न सफल भएका हुन्। त्यस्तै मोनालि तिवारी र कुशल राज अर्याल फस्ट रनर अप हुँदा एरिका भण्डारी, आरब आयर र अबिसु गौतम सेकेन्ड रनर अप हुन सफल भए।

सौगात मन्टेश्वरि स्कुलकी प्रिन्सिपल राज्य लक्ष्मी बैदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभ लक्ष्मी शाक्यको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा कीर्तिपुर नगरपालिका शिक्षा शाखा प्रमुख टंक प्रसाद गैरे सहित विभिन्न स्कुल कलेजका प्रधानाध्यापक तथा प्रतिनिधिहरू सहित शिक्षा क्षेत्र सँग सरोकार राख्ने विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा सौगातका विद्यार्थी तथा अभिभावकहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा क्याम्पियन एकेडेमी कलेजका प्रिन्सिपल जोस बि निरौला, बालविकास विशेषज्ञ डा मिनाक्षी दाहाल, ब्युटी एक्सपर्ट रुस्का वैद्य र फेसन डिजाइनर शुबानी लामाले विशेष अतिथि तथा निर्णायकको भूमिका निभाएका थिए। सौगात आइकनमा स्वजन रघुवंशीले कोरियोग्राफी गरेका थिए भने मजुना डंगोलले नृत्य निर्देशन गरेकी थिइन्। शुक्रबार सौगात आइकनको छैटौँ संस्करण सम्पन्न भएको हो ।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै सौगात मन्टेश्वरी स्कुलकी फाउन्डर प्रिन्सिपल राज्यलक्ष्मी बैदारले विद्यार्थीहरूलाई उपयुक्त अवसर प्रदान गरे उनीहरूले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने विश्वास सहित कार्यक्रम आयोजना गरिएको बताइन्। विद्यालयले आधुनिक प्रविधि सँग शिक्षालाई जोडेको हुँदा विद्यार्थीहरू समकालीन समयको प्रतिस्पर्धामा कहिल्यै पछि नपर्ने उनको भनाइ थियो। स- साना बालबालिकाको सर्वपक्षीय विकासका लागि समय समयमा विद्यालयले यस्ता क्रियाकलाप गर्दै आएको भन्दै उनले यस्ता क्रियाकलापहरूकै कारण सौगातका विद्यार्थी सानै देखि आफ्नो भविष्यको मार्गचित्र कोर्न सफल हुने गरेको बताइन्। शिक्षणको प्रगतिशील पद्धति अपनाई विभिन्न खेलकुद तथा संस्कारका क्रियाकलापमा नियमित सहभागी गराउँदा उनीहरूको प्रतिभा विकास, चरित्र निर्माण तथा व्यक्तित्व विकासमा टेवा पुग्ने उनको दाबी थियो। उनले उपस्थित तथा कार्यक्रमलाई सफल बनाउन लागिपर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उस्तै साथ सहयोग र हौसलाको अपेक्षा गरेको बताइन्।
सुन्दर स्वागत नृत्य बाट सुरु भएको कार्यक्रम फेसन सो हुँदै प्रश्नोत्तर राउन्डमा प्रवेश गरेको थियो। प्रतियोगितामा ‘प्रि टु’ अध्ययन गर्ने विद्यार्थीहरूलाई निर्णायकहरुले विविध प्रश्न गर्दै प्रश्नोत्तर राउन्ड सञ्चालन गरेका थिए । स- साना बालबालिकाहरूले निर्दोष आवाजमा दिएको सिर्जनात्मक उत्तर कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको थियो । प्रश्नहरू बालबालिकाहरूको दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक क्रियाकलापहरू सँग सम्बन्धित थिए । कार्यक्रममा बालबालिकाहरूले आफ्नो परिचय दिँदा केही महत्त्वपूर्ण र उत्प्रेरणादायी भनाइहरू पनि राखेका थिए। आफ्नो जीवनको लक्ष्य बारे बताउन सोही किसिमको भेसभुसामा बालबालिकाहरू प्रस्तुत भएका थिए जसले कार्यक्रमलाई अझै रोमाञ्चक बनाएको थियो । आफ्ना स- साना छोराछोरीले निर्णायकको अगाडी उभिएर मञ्च बाट दिएका सुन्दर प्रस्तुतिहरू हेरेर विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे । कार्यक्रममा विद्यार्थीहरूले आफूमा भएको प्रतिभा प्रस्तुत गर्दै प्रतियोगिताका लागि आफूलाई अब्बल साबित गर्ने प्रयास गरेका थिए । २४ जना प्रतिस्पर्धीहरू बाट सौगात आइकन छनोट भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले उत्कृष्ट कार्यक्रम आयोजना गरेको भन्दै सौगातलाई बधाई तथा सफलताको शुभकामना दिइन्। उनले बालबालिकालाई संस्कार सिकाउन यस किसिमका कार्यक्रम महत्त्वपूर्ण हुने भन्दै समुदाय र देशप्रति बफादार नागरिक उत्पादन गर्नेतिर अबको शिक्षा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। युवाहरू बिदेसिने क्रम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सीपयुक्त शिक्षा दिएर देशमै सम्भावनाको खोजी गर्ने वातावरण बनाउन लाग्नुपर्ने बेला आएको भनाई राखिन्। नगरभित्रको शिक्षा क्षेत्रको विकासका लागि कीर्तिपुर नगरपालिकाले काम गरिरहेको र त्यसैको उपलब्धि स्वरूप स्थानीय पाठ्यक्रम लागु गरिएको उनले बताइन्। शैक्षिक क्षेत्रको विकासका लागि हातेमालो गर्न नगरपालिका तयार रहेको उनको भनाई थियो।
बालबालिकाहरूले भाग लिनु नै जित्नु भएकाले उनीहरूलाई प्रोत्साहन गर्नका लागि सबै बालबालिकालाई कुनै न कुनै विधामा विद्यालयले पुरस्कृत गरेको थियो।

तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका क्रममा मात्र एजुकेसनले खिचेका तस्बिरहरू हेर्न सक्नुहुन्छ।