काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले समयमा पाठ्यपुस्तक नपुग्ने विषयबारे संसद्मा प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले मतपत्र छाप्न सक्ने सरकारले किताब किन छाप्दैन भन्दै प्रश्न उठाएका हुन्।
‘निःशुल्क शिक्षाको कुरा गरिरहँदा हिमाली जिल्लामा मङ्सिर महिनामा परीक्षा सकिन्छ र फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ’ उनले भने ‘ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निकालेको सूचना अनुसार ७७ जिल्लामा वैशाख १ गते बाट नयाँ शैक्षिक सत्र सुरु हुने भनिएको छ जहाँकी जुम्ला लगायतका हिमाली जिल्लाहरूमा फागुन १ गतेबाट नै शैक्षिक सत्र सुरु हुन्छ। बाँकी दुई महिना त्यहाँका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन। ‘
यसै वर्ष सम्पन्न तिनै तहका निर्वाचनमा सरकारले देशका हरेक कुनामा समयमै मतपत्र पुर्याएको तिर संकेत गर्दै उनले मतपत्र छापिने तर किताब किन नछापिने भन्दै प्रश्न गरेका छन्। उनले समयमै पाठ्यपुस्तक पुर्याउने तिर ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।