काठमाडौँ- प्रि- स्कुल ओलम्पिक डे कमिसनको आयोजनामा तेस्रो प्रि-स्कुल ओलम्पिक २०७९ सम्पन्न भएको छ । शनिबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आयोजित तेस्रो प्रि- स्कुल ओलम्पिक ४२ वटा मन्टेश्वरी प्रि-स्कुलका बालबालिकाहरूको सहभागितामा सम्पन्न भएको हो । `स्पोर्ट्स फर अल कमिसन´ अन्तर्गत पर्ने प्रि- स्कुल ओलम्पिक डे कमिसनले नेपाल ओलम्पिक कमिटी सँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमलाई काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल, प्रारम्भ वर्ल्ड स्कुल/ कलेज, माछापुच्छ्रे आइबी वर्ल्ड स्कुल र सुदेशा स्कुलले प्रायोजन गरेका थिए।
प्रि- स्कुल ओलम्पिक डे कमिसनकी अध्यक्ष राज्य लक्ष्मी बैदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहेका थिए । त्यस्तै स्पोर्ट्स फर अल कमिसनका विभिन्न तहका पदाधिकारीहरू, प्रायोजक विद्यालयका प्रिन्सिपलहरू सहित खेलकुद क्षेत्रलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावकहरू सहित बालबालिकाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै प्रि- स्कुल ओलम्पिक डे कमिसनकी अध्यक्ष राज्य लक्ष्मी बैदारले निरन्तरको मेहनत र लगावका कारण तेस्रो प्रि- स्कुल ओलम्पिक सफल हुने चरणमा रहेको भन्दै खुसी व्यक्त गरिन् । उनले सबैको सामूहिक प्रयासका कारण यो सम्भव भएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरिन् । सहभागी सबै विद्यालयका प्रिन्सिपल तथा शिक्षक शिक्षिकाको साथका कारण ओलम्पिक जस्तो अवसर सिर्जना गरेर आफ्ना बालबालिकाहरूको क्षमता विकास गर्दै सिकाइको नयाँ अवसर प्रदान गर्न सफल भएको उनको भनाइ थियो । उनले स्पोर्ट्स फर अल कमिसन, नेपाल ओलम्पिक कमिटी सहित सहकार्य गर्ने सबै संस्थाहरू प्रति आभार व्यक्त गरिन् । ओलम्पिकको ५ वटा रिङ जस्तै एकताबद्ध हुन सबैलाई आग्रह गर्दै उनले आगामी जुन महिनामा अझै भव्य कार्यक्रम गर्दै ओलम्पिक डे मनाइने उद्घोष गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले उत्कृष्ट कार्यक्रम आयोजना गरिएको भन्दै आयोजकको प्रयास सराहनीय रहेको उल्लेख गरे । उनले बालबालिकाहरूको मानसिक विकास ८ वर्ष सम्म तीव्र गतिमा हुने र यही उमेर समूहका बालबालिका पढाउने मन्टेश्वरी प्रि स्कुलहरूको प्रयासमा बालबालिकाले सानै उमेरमा ओलम्पिक जस्तो गौरवमय नामको मुनि राष्ट्रिय रङ्गशालामा खेल्न पाएको हुँदा विद्यालयहरूलाई धन्यवाद दिइनुपर्ने उल्लेख गरे। बालबालिकाहरूलाई यस्ता अवसरहरू प्रदान गर्दा सुन्दर घरको जग बलियो भएजस्तै सक्षम नागरिक उत्पादन हुन सघाउ पुग्ने धारणा राखे । उनले रङ्गशालामा बालबालिकाले देखाएको प्रदर्शन मनमोहक र उत्कृष्ट रहेको उल्लेख गरे। खेलकुदले स्वस्थ जीवन बाच्न मद्दत गर्ने हुँदा निरन्तर लाग्न उनले सबैलाई अनुरोध गरे।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले ओलम्पिक उच्चतम स्तरको खेल भएको भन्दै त्यस अर्थमा प्रिस्कुल ओलम्पिक महत्त्वपूर्ण कार्यक्रम भएको उल्लेख गरे। संसारभरका देशहरूले मान्यता दिएको ओलम्पिक खेलको सानो संस्करणका रूपमा कार्यक्रम आयोजना गरिएको हुँदा यसले बालबालिकाको व्यक्तित्व विकासमा ठुलो अर्थ राख्ने उनको धारणा थियो। बढ्दो सहरीकरण सँगै मोबाइल लगायतका विद्युतीय उपकरणहरूको अत्यधिक प्रयोगका कारण स्वास्थ्य र सामाजिक जीवन दुवैमा असर परेको आजको नेपाली समाजमा यस किसिमका गतिविधिहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । खेलकुदले भातृत्वको विकास, एकताको भावना निर्माण, शान्ति स्थापना र देश विकासका लागि भूमिका खेल्ने हुँदा संयुक्त रास्ट्रसंघ जस्ता संस्थाहरूले पनि खेलकुदलाई उच्च महत्त्व दिने गरेको उनको भनाइ थियो। खेलकुदको महत्त्व बारे बुझाउँदै चेतना अभिवृद्धिका लागि निरन्तर लागि पर्न सबै विद्यालयलाई अनुरोध गर्दै उनले कार्यक्रम सफलताको शुभकामना दिए।
कार्यक्रममा बालबालिकाहरूले ‘मार्च पास, पिटी, ड्रिल सहित बल एन्ड बकेट, ह्याङ्गिङ क्लोथ्स, हम्टि डम्टि, पास द बल, ब्यालेन्स द बल, हुप कोन रेस’ लगायतका विभिन्न खेलकुद गतिविधिहरूमा उत्साहजनक सहभागिता जनाएका थिए। ओलम्पिकको मान्यता अनुसार जित्नु भन्दा भाग लिनु ठुलो हो भन्ने भनाइ आत्मसाथ गर्दै सहभागी सबै विद्यार्थीलाई आयोजकले पुरस्कृत गरेको थियो । राष्ट्रिय रङ्गशालामा आफ्नो खेल कौशल प्रदर्शन गर्न पाएर स- साना बालबालिकाहरू दङ्ग देखिन्थे भने आफ्नो छोराछोरीको यस्तो प्रदर्शन देखेर अभिभावकहरू उत्तिकै उत्साहित देखिन्थे।
तपाईँ यहाँ क्लिक गरेर कार्यक्रम अवधिभर मात्र एजुकेसनले खिचेका तस्बिरहरू हेर्न सक्नुहुन्छ ।