सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि विभिन्न मोबाइल एप्लिकेशनहरुको प्रयोग गरी डिजिटल शैक्षिक सामग्री निर्माण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । मेलम्ची नगरपालिका शिक्षा शाखाको सहयोगमा प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकद्वारा उक्त कार्यशाला सम्पन्न भएको हो ।
प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले कार्यशालामा केही गुगल टुल्स सहित किने मास्टर, फिल मेकर, एड टेक्स्ट, एक्स रेकर्डर, बेनीम जस्ता मोबाइल एप्लिकेशनहरु मार्फत कक्षाकोठामा प्रयोग गर्न सकिने शैक्षिक सामग्री बनाउने अभ्यासका लागि सहजीकरण गरेका थिए। कार्यशालामा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूबाट एक एक जना आधारभूत तहका शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै प्रविधिमैत्री शिक्षक समाज नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष कृष्ण ढुङ्गानाले समय अनुसार नयाँ नयाँ सीप र प्रविधिप्रति शिक्षकहरूलाई आकर्षित गराउँदै सिक्ने र सिकाउने अभियान निरन्तर जारी राख्ने संस्थाको उद्देश्य रहेको उल्लेख गरे। उनले प्रविधिमा एक दिनको सिकाइ पूर्ण नहुने हुँदा यसलाई सामान्य अभिमुखीकरणका रूपमा लिँदै निरन्तर अभ्यास गर्न सहभागी शिक्षकहरूलाई अनुरोध गरे। ‘यो जति गर्दै गयो उति खारिँदै जाने हो । बिना अभ्यास प्रविधिको आधारभूत सिकाइ अर्थ हुन्न । एप्लिकेशनको बारेमा आधारभूत जानकारी सहित प्रयोग गर्ने तरिकाको बारेमा उहाँहरूले थप खोजी गरी त्यसबाट कसरी उत्कृष्ट सामग्री तयार, विकास गर्ने भन्ने कुरा उहाँहरूको लगाव र सृजनशीलतामा पनि भर पर्दछ । विद्यालयमा उहाँहरूमार्फत प्राप्त गर्नुभएको सीपलाई सबै शिक्षकसम्म पुर्याउन सके थप उपलब्धि हुन सक्छ भन्ने अपेक्षा गरेका छौँ’ उनले भने।