काठमाडौँ- चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड स्कुलको `स्पोर्ट्स मिट´ सुरु भएको छ । बुधवार विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच खेलकुद कार्यक्रम उद्घाटन गरिएको हो। मनास्लु वर्ल्ड स्कुलका प्रधानाध्यापक गेन्द्र लामाको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा न ७ का अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको हो । कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, वित्त प्रमुख कुमार मोक्तान, विभिन्न विद्यालयका प्रतिनिधिहरू सहित विद्यालयका शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै मनास्लु वर्ल्ड स्कुलकी `एकेडमीक हेड´ शशिकला खड्का, मनस्लु वर्ल्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ लगायतले शिक्षा प्रणालीमा खेलकुदको महत्त्वको चर्चा गरेका थिए । खेलकुदले स्वस्थ राख्ने मात्रै नभई व्यक्तिको प्रतिभा विकासका लागि पनि खेलकुद अनिवार्य भएको उनीहरूको भनाइको सार थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै काठमाडौँ महानगरपालिका वडा न ७ का अध्यक्ष विमल कुमार होडाले खेलकुद सप्ताहको पूर्ण सफलताको कामना गरे। उनले व्यक्ति र सिङ्गो देशको प्रगतिका लागि खेलकुदको विकास हुनुपर्ने धारणा राखे । वडाले पनि छिटै अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको भन्दै उनले त्यसमा पनि सक्रिय सहभागिताका लागि विद्यालयलाई अनुरोध गरे। उनले मनास्लु वर्ल्ड स्कुलले राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न सकोस् भन्ने शुभकामना दिए ।

उद्घाटन कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक गेन्द्र लामाले उपस्थित अतिथिलाई उपस्थितिका लागि धन्यवाद दिए । उनले स्थापनाकाल देखि नै मनास्लु वर्ल्ड स्कुलले आफ्ना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र सर्वपक्षीय विकासका लागि विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गरे। खेलमा हारजित हुने भए पनि अनुशासित भएर खेल्ने खेलाडी नै असली विजेता हुने उनको भनाइ थियो ।
उद्घाटन समारोह पश्चात् विभिन्न खेलकुदका सामग्रीहरू सम्बन्धित विद्यार्थी तथा प्रशिक्षकहरूलाई हस्तान्तरण गरिएको थियो । सँगै विभिन्न खेलको `डेमो´ विद्यार्थीहरूले रोचक रूपमा प्रस्तुत गरेका थिए। `स्पोर्ट्स मिट´ मा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, चेस, टेबल टेनिस, म्याराथन, टग अफ वार लगायत विभिन्न खेलमा प्रतिस्पर्धा हुने विद्यालय प्रशासनले जनाएको छ ।

मनास्लु वर्ल्ड स्कुल तथा कलेजले विभिन्न खेलकुदका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्ने गरेको छ । खेलकुदमा उत्कृष्ट प्रतिभा भएका विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरिएको हो ।
विद्यालयले आगामी सरस्वती पूजाको पावन अवसरमा नर्सरी देखि युकेजी सम्म निःशुल्क भर्ना गर्ने घोषणा पनि गरेको छ ।
यहाँ क्लिक गरेर तस्बिरहरू हेर्नुहोस्