Matra Education आइतबार, साउन १० २०८३

अपेनको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न, १९ सदस्यीय केन्द्रीय समिति चयन

अपेनको दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न, १९ सदस्यीय केन्द्रीय समिति चयन

  • मात्र एजुकेशन
  • शनिबार, पौस ३० २०७९


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले आफ्नो दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ । शनिवार राजधानीको धुम्बाराही स्थित सूर्य इभेन्ट्समा आयोजित एक औपचारिक कार्यक्रमका बिच अपेनले दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गरेको हो । अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट निर्वाचित सांसद शिशिर खनाल प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा अपेनका सदस्यहरू सहित शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपस्थित अतिथिलाई स्वागत गर्दै अपेनकी प्रस्तावित केन्द्रीय सदस्य राज्यलक्ष्मी बैदारले उपस्थितिका लागि सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा पनि सबैको सक्रिय साथ र सहयोगको अपेक्षा आफूहरूले गरेको भन्दै उनले अपेनले हजार माइलको यात्रा तय गर्न पहिलो पाइला चालेको उल्लेख गरिन् । अपेनले तमाम मन्टेश्वरिहरुलाई व्यवस्थित बनाउने , गुणस्तर बढाउने र आर्थिक रूपमा मजबुत बनाउने उद्देश्य राखेको उनको भनाई थियो ।

कार्यक्रममा संस्थाको भावी रणनीति प्रस्तुत गर्दै अपेन का केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक कृष्ण कुमार बोहराले आजको आर्थिक व्यवस्था भित्र सदस्य विद्यालयहरू आर्थिक रूपमा सबल हुन जरुरी रहेको उल्लेख गरे । साना बालबालिकाको प्रवेश परीक्षा नलिने निर्णयमा अपेनको समर्थन रहेको उल्लेख गर्दै उनले कक्षा ३ सम्म बालबालिकाले एउटै विद्यालयमा पढ्न पाउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रमुख अतिथि खनाललाई आफूहरूको आवाज संसद सम्म पुर्‍याउन अनुरोध गर्दै सबै अपेन सदस्यहरूलाई सामूहिक हितका लागि एकताबद्ध हुन उनले अपिल गरे।

अपेनको महाधिवेशनलाई शुभकामना दिँदै निवर्तमान महासचिव तथा शैक्षिक अभियान्ता अभिषेक घिमिरेले अबका बालबालिकाहरूले देशमा योगदान गर्न सक्ने उल्लेख गरे । सामुदायिक विद्यालय सुधारको अभियान लिएर देशका विभिन्न ठाउँ पुगेको आफ्नो अनुभव बाँड्दै उनले आजको शिक्षा क्षेत्र निजीले थामेको धारणा राखे। निजी विद्यालय वैकल्पिक भए पनि त्यसको महत्त्व नजर अन्दाज गर्न नसकिने उनको भनाई थियो। सूर्यको प्रकाश छरिएको हुने भए पनि लेन्समा एकत्रित गर्दा त्यो शक्तिशाली बन्ने भन्दै उनले एकताबद्ध हुन सबै अपेन सदस्यहरूलाई आग्रह गरे। राजनीतिक दलहरूले संसद्लाई प्रतिपक्ष विहीन बनाएको भन्दै उनले शैक्षिक सुधारका लागि आफूहरूले सडकबाट प्रतिपक्षको भूमिका खेल्ने भनाइ राखे।

सम्भावित भावी शिक्षामन्त्रीका रूपमा समेत हेरिएका कार्यक्रमका प्रमुख अतिथि खनालले आफू पनि सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि हुनुपर्छ भनेर क्रियाशील रहेको भन्दै त्यसका लागि `टिच फर नेपाल´ मार्फत गरिएका प्रयासहरूको वर्णन गरे। शिक्षा जस्तो आधारभूत अधिकारमा समेत देशभर विभेद रहेको भन्दै उनले आर्थिक, सामाजिक पक्ष सँग पनि शिक्षा जोडिने बताए। नेपालमा शिक्षा कहिल्यै राजनीतिक मुद्दा बनेन भनेर आफू राजनीतिमा होमिएको र चुनावी अभियानमा धेरैले शिक्षा नबोक्न भनेपनी आफूले पहिलो मुद्दा बनाएको उनको दाबी थियो । मन्टेश्वरी प्रि स्कुलहरूले सिकाइको जग बसाल्ने भन्दै उनले घोकाउने काम मात्रै गर्नुभन्दा सामाजिक संवेगात्मक क्षमता अभिवृद्धिका लागि पनि काम गर्न सुझाए । अपेन जस्ता छाता सङ्गठनहरूले आफ्ना सदस्यहरूलाई आफैँ निगरानी गर्ने गरी तयारी गर्नुपर्ने र सरकारी संस्थाहरू सँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो । शिक्षा क्षेत्रमा रहेका समस्याहरू सँग आफू परिचित रहेको भन्दै ती मुद्दाहरू सम्बन्धित ठाउँमा उठाउने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा अपेनका केन्द्रीय अध्यक्ष बद्री दाहालले आफूहरूको आवाज सम्बन्धित निकायमा पुर्‍याइदिन प्रमुख अतिथि खनाल समक्ष अनुरोध गरे। बढ्दो सहरीकरणका कारण उत्पन्न भएको समस्या समाधानका लागि व्यवस्थित चाइल्ड केयर सेन्टरहरूको निर्माण हुनुपर्ने उल्लेख गरे। उनको अर्को माग राज्यले स्थानीय तहमै बालमैत्री खेल क्षेत्र निर्माण गर्नुपर्छ भन्ने थियो । ४ देखि ८ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि यस्तो आवश्यकता रहेको उनले उल्लेख गरे। यिनै सुविधाहरूका कारण विकसित राष्ट्रको औद्योगीकरण सम्भव भएको उनको भनाई थियो । अपेनले निकट भविष्यमा विभिन्न संस्थाहरू सँगको सहकार्यमा बालबालिकाका क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम गर्न लागेको भनाइ राख्दै उनले औपचारिक सत्र अन्त्य गरे।

आजै भएको बन्द सत्र मार्फत निम्न १९ सदस्यीय पदाधिकारी दोस्रो कार्यकालका लागि छनोट भएका छन् ।

मात्र एजुकेसनका प्रधान सम्पादक रमेश लामिछानेलाई अपेनले अधिवेशनकै अवसर पारेर अफिसियल मिडिया पार्टनर बनेर योगदान गरेबापत सम्मानित गरेको थियो।

तपाईँ यहाँ क्लिक गरेर अपेनको दोस्रो केन्द्रीय महाधिवेशन कार्यक्रमका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड