काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौँ महानगरले विश्वनिकेतन मा. वि., त्रिपुरेश्वरमा यही पौष २४ गते माध्यमिक तह गणित विषयको प्रश्नपत्र निर्माण प्रशिक्षण तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँ महानगर भित्र विभिन्न विद्यालयमा अध्यापनरत ५५ जना गणित शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष माधव प्रसाद ओलीले गरेका थिए भने वरिष्ठ प्रशिक्षक रमेश प्रसाद अवस्थी र प्रशिक्षक डिल्लीराम पौडेलले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगाेल, महानगर शिक्षा सल्लाहकार राेसु अर्याल, महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, शिक्षक संगठन काठमाडौँ जिल्ला अध्यक्ष डिल्ली शर्मा तथा विश्वनिकेतन मा. वि. का प्र. अ. हेरम्बराज कडेलकाे उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै महानगर उपप्रमुख सुनिता डंगाेलले महानगरले गर्नु पर्ने काम शिक्षक संगठनले गरेकामा धन्यवाद ज्ञापन गर्दै सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको र आगामी शैक्षिक सत्र बाटै शिक्षाको सूचकहरूमा सुधार आउने दाबी गरिन्। महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक संगठनहरु राजनीति गर्ने थलो नभई शिक्षकको पेसागत दक्षता अभिवृद्धि गर्ने माध्यम हुन् भन्ने उदाहरण पेस गरेको भन्दै संगठनकाे कामको प्रशंसा गरे।
मात्र एजुकेसन सँग कुरा गर्दै संगठनका सचिव गणेश गुरागाईँले संगठन शिक्षकको पेसागत हकहितमा क्रियाशील रहेको र आगामी दिनमा अन्य विषयहरूको पनि प्रशिक्षण तथा शिक्षकहरू बिचको सम्बन्ध नवीकरण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए।
