काठमाडौँ- लोकन्थली भक्तपुरमा रहेको कखरा प्रि-स्कूलले खेलकुद दिवसको अवसर पारेर महिला धावक सन्तोषी श्रेष्ठलाई सम्मान गरेको छ। शनिवार विद्यालय परिसरमा आयोजित औपचारिक खेलकुद दिवस उद्घाटन कार्यक्रमको अवसर पारेर कखराले उनलाई सम्मान गरेको हो। धादिङकी खेलाडी श्रेष्ठलाई १३ औँ साग च्याम्पियनसिप अन्तर्गत महिला एथलेटिक्स तर्फ १० हजार मिटरको दौडमा प्रथम स्थान हासिल गरी पहिलो पटक स्वर्ण पदकका साथ नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ।
कखराले प्रत्येक वर्ष आफ्नो खेलकुद दिवसको अवसरमा नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरूलाई सम्मान गर्दै आएको छ । प्रसिद्ध धावक वैकुण्ठ मानन्धर तथा जितबहादुर के.सी.लाई कखराले अघिल्ला वर्षहरूमा सम्मानित गरेको थियो ।
सम्मानित खेलाडी श्रेष्ठले कखराद्वारा आयोजित खेलकुद प्रतियोगिता मा सहभागी बालबालिकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरी हौसला प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै विद्यालयकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदको माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, इमान र प्रसिद्धिले कलिला बालबालिकाहरूलाई पनि खेलकुदको महत्त्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठुलो हौसला पुग्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै विद्यालयका प्रबन्ध सञ्चालक उमानाथ निरौलाले बालबालिकामा कुनै न कुनै खेलकुद प्रतिको रुचि र प्रतिभा ७ वर्ष उमेर पुरा हुनु अघि नै विकसित हुने भएकाले कखराले बालबालिकाको रुचि र प्रतिभालाई समयमै पहिचान गरी सोही अनुसार विभिन्न खेलकुद क्रियाकलापहरूमा सहभागी गराउने गरेको जानकारी दिए । कखराका अभिभावक, शिक्षक, शिक्षिका, कर्मचारी तथा शुभचिन्तकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा बालबालिकाहरूबाट रोमाञ्चक खेलहरूको प्रदर्शन भएको थियो ।
मौलिक एवं सु संस्कृत प्रि-स्कूलको पहिचान बनाएको कखरा प्रि-स्कूल उत्कृष्ट शैक्षिक वातावरणका साथ अतिरिक्त क्रियाकलापको समुचित समायोजन गर्ने गरेकै कारण त्यस क्षेत्रका अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।
तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ।