काठमाडौँ- त्रिभुवन विश्वविद्यालय बाट बिबिएस चौथो वर्षको परीक्षा दिएका देशभरका विद्यार्थीहरू यतिबेला नतिजाको पर्खाइमा छन्। त्रिविले नतिजा प्रकाशन ढिला गरेर हजारौँ विद्यार्थीको भविष्य माथि खेलबाड गरेको भन्दै आक्रोश उठिरहेका बेला दमक नगरपालिका झापा स्थित दमक बहुमुखी क्याम्पसका विद्यार्थीले भने पुनः परीक्षा दिनुपर्ने भएको छ। नतिजा कुरिरहेका विद्यार्थीको मोबाइलमा ‘रिसर्च मेथोडोलोजी’ विषयको परीक्षा पुनः दिनुपर्ने एसएमएस आएपछि उनीहरू आक्रोशित छन्।
मात्र एजुकेसन डट कम ले प्राप्त गरेको एसएमएसको स्क्रिनसटमा सिम्बोल नम्बर ७०२०२००००१ देखि ७०२०२०२५२ सम्मका उक्त विषय पढ्ने विद्यार्थीलाई पुस २४ गते ८ बजे दमक क्याम्पस परीक्षा केन्द्रमा पुनः परीक्षाका लागि उपस्थित हुन सूचित गरिएको देखिएको छ।
हामीले यस विषयको वास्तविकता बुझ्नका लागि दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई सम्पर्क गरेका थियौँ। उनले त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा लिनका लागि खबर गरिदिनु भन्ने निर्देशन आएकाले आफूहरूले एसएमएस पठाएको उल्लेख गरे। पुनः परीक्षा लिनुपर्ने कारणबारे आफूहरू जानकार नभएको भन्दै उनले परीक्षामा कुनै त्रुटि भए पनीकाले पुनः परीक्षा लिने प्रावधान रहेको र सोही अनुसार हुन लागेको उल्लेख गरे। नतिजा कुरिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिन लगाउँदा उनीहरू समस्यामा पर्लान् नि भन्ने मात्र एजुकेसनको प्रश्नमा उनले त्यस विषयमा पनीकालाई नै सोध्न अनुरोध गरे। क्याम्पसको तर्फबाट परीक्षा सञ्चालन देखि उत्तरपुस्तिका बुझाउने चरण सम्म कुनै त्रुटि नभएको उनको दाबी छ।
मात्र एजुकेसनले पुनः परीक्षा गर्नुपर्ने कारणबारे बुझ्ने प्रयास गरिरहेको छ। हामी विस्तृत विवरण सहितको सामग्री पछि प्रकाशन गर्नेछौँ।