काठमाडौँ- शिक्षक सेवा आयोग आफैँले जारी गरेको वार्षिक कार्यतालिका पालना गर्न असफल भएको छ। आयोगले जारी गरेको २०७९ सालको वार्षिक कार्यतालिका अनुसार कार्तिक/ मङ्सिर महिनामा प्राथमिक तहको खुला परीक्षाको नतिजा आइसक्नुपर्ने हो। तर निमाविको अन्तर्वार्ता नतिजा प्रकाशन गर्नमै पुसको आधा महिना बिताएको आयोग प्राथमिक तहको नतिजा तोकिएको समयमा प्रकाशन गर्न असफल भएको हो। अब कम्तीमा पनि तोकिए भन्दा एक महिना ढिला नतिजा प्रकाशन हुने देखिएको छ।
मात्र एजुकेसनले यो विषयमा आयोगका प्रवक्ता सुदर्शन मरहट्ठालाई प्रश्न गरेको थियो। उनले उम्मेदवारहरूको सङ्ख्या अत्यधिक भएका कारण कार्यतालिका जस्ताको त्यस्तै पालना गर्न नसकिएको उल्लेख गरे। यतिबेला आयोग मावि र निमाविको करार सुची प्रकाशन गर्ने तयारीमा रहेको भन्दै उनले त्यस लगत्तै प्राथमिक तहको नतिजा प्रकाशन सुरु हुने जानकारी दिए। अन्य तहको सिफारिस भइसकेपछि प्राविको नतिजा प्रकाशन गर्दा निमावि र माविमा उत्तीर्णहरूको सङ्ख्या घट्न गई अन्य उम्मेदवारहरूले अवसर पाउने उनको दाबी थियो। उनका अनुसार आयोगले नतिजा प्रकाशनका लागि तीव्र रूपमा तयारी गरिरहेको हुँदा केही दिनमै नतिजा प्रकाशन सुरु हुनेछ।
