काठमाडौँ- मन्टेश्वरी तथा प्रि-स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को दोस्रो केन्द्रीय महाधिवेशन पुस ३० गते धुम्बाराहीमा हुने भएको छ। गत पुस ७ गते बसेको अपेन केन्द्रीय कार्य समिति बैठकको निर्णय अनुसार आगामी ३० गते धुम्बाराहीस्थित सूर्य क्याटरिङमा महाधिवेशन सम्पन्न हुने भएको हो। महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ।
अपेनले एक सूचना जारी गर्दै दोस्रो महाधिवेशनका बारे जानकारी गराएको छ। केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालले जारी गरेको सूचनामा केन्द्रीय कार्य समितिमा सदस्यका रूपमा उम्मेदवारी दिन इच्छुक सदस्यहरूलाई आवश्यक प्रक्रिया पुरा गरी पुस १३ गते देखि २० गतेसम्म केन्द्रीय कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गराउन भनिएको छ। यसरी उम्मेदवारी दिनका लागि हालको अवस्थामा अपेनका कुनै पनि स्थानीय कार्यसमितिमा बहाल नभएको हुनुपर्ने समेत सूचनामा उल्लेख छ। अपेनका सम्पूर्ण सदस्यहरूलाई आ-आफ्नो स्थानीय कार्य समितिले महाधिवेशन प्रतिनिधिका रूपमा स्वीकृत गरी केन्द्रीय कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान बनाइएको छ ।
सम्पूर्ण कार्यसमिति तथा सदस्यहरूलाई आ-आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्दै महाधिवेशनलाई भव्य रूपमा सफल बनाउन अपेनले सम्बद्ध सबैलाई आग्रह गरेको छ।
