Matra Education आइतबार, साउन १० २०८३

मनास्लु वर्ल्ड कलेजको बिबिएस अभिमुखीकरण कार्यक्रम सम्पन्न

मनास्लु वर्ल्ड कलेजको बिबिएस अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, पौस ३ २०७९


काठमाडौँ- चाबहिलको मनास्लु वर्ल्ड कलेजले बिबिएस प्रथम वर्षका लागी अभिमुखीकरण तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह प्रथम वर्ष (बिबिएस) भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण सहित परामर्श गराएको हो । स्थापनाकाल देखि नै अभिमुखीकरण कार्यक्रमलाई नियम पढाउने कार्यक्रम भन्दा पनि उत्प्रेरित गर्ने र हौसला बढाउँदै आगामी दिनका लागी विद्यार्थीलाई तयार गर्ने संस्कार बनाएको मनास्लुले यो कार्यक्रममा पनि त्यसलाई निरन्तरता दिएको थियो ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्व र काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उद्यमी, लेखक तथा संरक्षणविद् कर्ण शाक्य प्रमुख वक्ता रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित दिग्गज व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने विशेष प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा मनास्लुमा स्नातक प्रथम वर्षमा भर्ना भएका विद्यार्थी, शिक्षक, शिक्षिका तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै विद्यार्थीलाई स्वागत गरेका मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले स्थापनाको तेस्रो वर्षमै आफूलाई प्रमाणित गर्दै मनास्लुले आफ्नो अस्तित्व कायम गरेको बताए । +२ मा स्थापनाको छोटो समयमै उत्कृष्ट कलेजको परिचय बनाएको मनास्लु स्नातक तहमा पनि त्यही प्रतिष्ठा कायम गर्ने गरी अगाडि बढिरहेको उनको भनाइ थियो। फरक सोच सहित स्थापित कलेज भएकाले कार्यक्रम पनि फरक हिसाबले राखिएको र उत्प्रेरणा तथा मनोरञ्जनले भरिपूर्ण बनाएको उनले उल्लेख गरे । देशभर बाट उज्ज्वल भविष्य निर्माण गर्ने महान् अभिलाषा बोकेर आएका सबै विद्यार्थीको सपना पूरा गर्न मनास्लु सफल हुने विश्वास सहित उनले सबै विद्यार्थीलाई स्वागत गरे।

स्वागत नृत्य सहित कार्यक्रम अवधिभर मनास्लुको विद्यार्थीका प्रतिभाले भरिपूर्ण विभिन्न प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक बनाएको थियो । कार्यक्रममा बिबिएस किन र के का लागि पढ्ने ? मनास्लुमा त्यो विषयको अध्यापन कसरी हुन्छ? लगायत विषयमा जानकारी गराइएको थियो । त्यस्तै मनास्लुले दिने सुविधा र अध्ययन पश्चात् आउने अवसरहरू बारे पनि जानकारी गराइएको थियो ।

कार्यक्रमको प्रमुख आकर्षण बनेका वक्ता कर्ण शाक्यले विद्यार्थीहरूलाई आफ्नो अनुभव सुनाउँदै मेहनत र सही निर्णयले उचित प्रतिफल प्राप्त हुने सन्देश दिएका थिए। अबको प्रतिस्पर्धात्मक युगमा स्थापित हुनका लागि सीपयुक्त शिक्षामा जोड दिनुपर्ने र आफ्नो प्रतिभा, क्षमता पहिचान गरी त्यसैलाई भविष्य बनाउने गरी मेहनत गर्नुपर्नेमा उनले जोड दिए। बिबिएस आफैँमा व्यवसायी बनाउने विषय भएकाले सबै विद्यार्थीलाई उद्यमी बन्नेगरि मेहनत गर्न र जीवनमा सफल हुनका लागि उनले शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथि होडाले स्थापनाको छोटो समयमै आफूलाई प्रमाणित गर्न सफल भएको भन्दै कलेजलाई बधाई दिएका थिए। राष्ट्रलाई चाहिने सबै विधाका जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर कलेज अघि बढिरहेको देखेर आफू हर्षित भएको उनको भनाई थियो । ईश्वरमा आस्था राख्नाले मनुष्य जीवनले सार्थकता पाउने विचार व्यक्त गरेका उनले आमा, बुबा र गुरु भगवानको रूप भएको बताए । आफू जनप्रतिनिधि भएकाले विधिको शासन कायम गर्न चाहेको र त्यसका लागि असल नागरिक चाहिने भन्दै उनले त्यही काम मनास्लुले गर्दै आएको उल्लेख गरे । कलेजमा अध्ययनरत विद्यार्थीले देशको कीर्ति अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने विश्वास आफूले लिएको भन्दै उनले कलेजको उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा अन्य वक्ताहरूले पनि यो ३ वर्षे यात्रामा नै आफूलाई अब्बल साबित गरिसकेको मनास्लु `हुने बिरुवाको चिल्लो पात ´ भनेझैँ दिन दिनै प्रमाणित हुँदै गएको उल्लेख गरे। उनीहरूले मनास्लुको आगामी यात्राका लागि शुभकामना दिए।

यो वर्ष १५० भन्दा बढी विद्यार्थीले बिबिएस अध्ययनका लागि भर्ना भएको कलेज प्रशासनले जनाएको छ ।

तपाईँ यहाँ क्लिक गरेर उक्त कार्यक्रमको फोटोफिचर हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड