Matra Education आइतबार, साउन १० २०८३

विश्व निकेतन स्कुलकी विद्यार्थी मृत्यु प्रकरण, हत्या भएको भन्दै कारबाहीको माग

विश्व निकेतन स्कुलकी विद्यार्थी मृत्यु प्रकरण, हत्या भएको भन्दै कारबाहीको माग

विद्यालय प्रशासन भन्छ: 'अनुपस्थित हुनुको कारण सोधिएको हो, कुनै टर्चर दिएको छैन'

  • रमेश लामिछाने
  • शनिबार, मंसिर २४ २०७९


काठमाडौँ- त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको हत्या भएको भन्दै प्रदर्शन भएको छ। बुधवार मृत भेटिएकी कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरीका परिवार र सो स्कुलका विद्यार्थीले हत्यामा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने माग सहित विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले शनिवार त्रिपुरेश्वरस्थित स्कुलदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गर्दै शङ्कास्पद मृत्युको छानबिन गर्न माग गरेका छन्।

सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधवार राति मृत भेटिएकी थिइन् । व्यवस्थापन संकायमा अध्ययनरत उनले अनुशासन प्रमुखको मानसिक यातनाका कारण आत्महत्या गरेको विद्यार्थीहरूको आरोप छ।

प्रधानाध्यापक भन्छन्: आरोप निराधार छ
विद्यार्थीहरूले सदीक्षा मृत्यु प्रकरणमा विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीलाई ‘टर्चर’ दिएको भन्दै दोषी देखाएपछि मात्र एजुकेसनले यसबारे बुझ्ने प्रयास गरेको छ। हामीले यस आरोपबारे विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेललाई प्रश्न गरेका थियौँ। उनले यो आरोप निराधार रहेको दाबी गरे। विद्यालयले भौतिक दण्डलाई यसअघि देखि नै निषेध गरेको र परामर्शमा जोड दिएको भन्दै उनी भन्छन्, “चुनाव पछि लामो समय गयल भएका सबै विद्यार्थीलाई हामीले त्यसको कारण बुझ्न बोलाएका हौँ। बोलाउने क्रममा सदीक्षा चौधरीलाई पनि बोलाइएको हो। १९ गते उनलाई बोलाउँदा उनी १४ दिन अनुपस्थित भएकी थिइन्। उनले आफू गाउँ गएको भनेपछि हामीले उनलाई अभिभावक ल्याउन भनेका थियौँ। २० गते दाइ भनेर उनले ल्याएको व्यक्तिले नै आफू दाइ नभएको स्वीकार गरे। उनले ‘फेक’ अभिभावक ल्याएको थाहा पाएपछि हामीले पुनः आमाबुबा ल्याउन भन्यौँ। २१ गते उनले आमा ल्याएपछि हामीले आमाछोरी दुवै राखेर हाम्रो अनुशासन समिति संयोजक अनि अर्को एक जना संयोजक सहित ३/४ जना बसेर फेक अभिभावकको कुरा गर्दा आमाले पनि छोरीलाई को ल्याइस् भनेर गाली गर्नुभयो। हामीले विद्यालय निरन्तर आउनु भनेर सम्झाएर पठाएको हो। त्यही दिन बेलुकी त्यस्तो अप्रिय घटना सुन्नु पर्‍यो”।

विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीलाई निलम्बन गरिएको पनि उनले बताए

सुसाइड नोटमा ‘आइ लाभ दिदी’
मात्र एजुकेसनले आत्महत्या गर्नुअघि सदीक्षाले लेखेको ‘सुसाइड नोट’ पनि प्राप्त गरेको छ। सुसाइड नोटमा उनले ‘आइ लाभ दिदी’ लेखेकी छिन्। उनले आफू सही भएको र कसैलाई व्याख्या गर्न नसक्ने उल्लेख गरेकी छिन्। आफूलाई ‘होटल गयो’ लगायतका के के आरोप लगाइएको भए पनि आफूले त्यस्तो केही नगरेको पनि उनले नोटमा लेखेकी छिन्। यद्यपि आत्महत्या गर्नुको कारण र कोही व्यक्ति, संस्थाको नाम भने नोटमा उल्लेख छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड