काठमाडौँ- विद्यालयका प्रधानाध्यापकले आफ्नै छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ। काठमाडौँको टोखा नगरपालिका- १० सामाखुसी स्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सोही विद्यालयमा अध्ययनरत एक छात्राले किटानी जाहेरी दिएकी हुन्।
छात्राको अभिभावकले प्रहरी वृत्त, महाराजगञ्जमा सोमबार सोही विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईविरुद्ध किटानी जाहेरी दिएको र उक्त जाहेरी दर्ता भएको प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत डिएसपी अंगुर जिसीले पुष्टि गरे ।
जाहेरीमा प्रधानाध्यापक भट्टराईले छात्रालाई गत भदौदेखि नै विद्यालय समयमा र सो भन्दा पनि पहिले पटक पटक बोलाउने कोही अन्य विद्यार्थी भए छिटो छिटो बाहिर पठाउने र निज बालिकालाई कहिले ढोका लगाएर, कहिले खुल्लै अवस्थामा निज बालिकाको ढाड छुने, मुसार्ने, ब्रा को लक खोलिदिने गरेको उल्लेख छ ।
साथै उनले छात्रालाई, तिमीले यौन सम्पर्कको अनुभव तथा मज्जा लिएकी छौ की छैनौ, तिम्रो त यौन सम्पर्क गर्ने उमेर हो भन्दै यौन सम्पर्क प्रति आकर्षित गर्ने जस्ता जघन्य क्रियाकलाप गर्दै आएको उल्लेख गरिएको छ ।
उनले ती छात्रालाई प्रधानाध्यापकको कार्यकक्षमा बोलाइ करणी गर्ने मनसायले ढाड सुमसुम्याउने, ब्रा को लक खोलिदिने जस्ता क्रियाकलाप गरी बाल यौन दुरुपयोग गरेको हुनाले हदैसम्मको कारबाहीको माग गर्दै जाहेरी दर्ता भएको हो ।
विद्यार्थीले प्रधानाध्यापकमाथि कारबाही गर्न माग राख्दै मंगलबार विद्यालयमा प्रदर्शनसमेत गरेका थिए ।