काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजामा सफल भएका उम्मेदवारहरूलाई आफ्नो लाइसेन्स लिन सूचित गरेको छ। सोमबार एक सूचना जारी गर्दै आयोगले परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकाश तथा समन्वय इकाई बाट आफ्नो अध्यापन अनुमतिपत्र लिन अनुरोध गरेको हो।
आयोगबाट २०७१।०५।२९ गते प्रकाशित विज्ञापन नम्बर ३८ |०७९ निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजामा सफल भएका उम्मेदवारहरिका लागि यो सूचना जारी गरिएको हो। आयोगले सफल उम्मेदवारहरूको अध्यापन अनुमतिपत्र परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकाश तथा समन्वय इकाईमा पठाई सकेको पनि उल्लेख गरेको छ ।
सूचना अनुसार सफल उम्मेदवारहरूले निम्नानुसारको कागजात लिई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई मा सम्पर्क राखी अध्यापन अनुमतिपत्र लिन सक्नेछन्।
क. माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) देखि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि,
ख. शिक्षा विषयमा कम्तीमा १० महिना तालिम गरेको प्रमाणपत्रको प्रतिलिपि (मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा विषय लिई कक्षा १२ उत्तीर्ण, शिक्षा शास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण, स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरेको भए उक्त योग्यता नै तालिम सरह हुने । ),
ग. हालसालै खिचेको अटो साइजको दुई प्रति फोटो,
घ. प्रवेश पत्रको प्रतिलिपि,
ङ. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
च. विदेशी शैक्षिक संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षताको प्रमाणपत्र ।
