काठमाडौँ- म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा चौथो माफ बास्केटबल टुर्नामेन्ट २०७९ सुरु भएको छ। ज्ञान निकेतन सेकेन्डरी स्कुल,शंखमुल- नयाँ बानेश्वर मुख्य आयोजक रहेको प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बिच आइतबार उद्घाटन गरिएको थियो। माफका अध्यक्ष प्रज्वल कोइराला, माफका अतिरिक्त क्रियाकलाप इन्चार्ज रेगन सिंह तथा ज्ञान निकेतन स्कुलका सिइओ विश्वजित कुँवरद्वारा संयुक्त रूपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले सहभागी सबै १६ सदस्य विद्यालयका प्रतियोगी टिमहरूलाई विजयका लागि शुभकामना दिएका थिए।
कार्यक्रममा ज्ञान निकेतन स्कुलका छात्राहरूले बेजोड नृत्य समेत प्रस्तुत गरेका थिए। त्यस्तै उद्घाटन कार्यक्रमलाई अझ भव्य बनाउनका लागि माफ सदस्य विद्यालयका प्रिन्सिपल तथा डाइरेक्टरहरूको बाक्लो उपस्थिति रहेको थियो।
पहिलो दिन भएका लिग खेलहरूमा सिनियर ब्वाइज तर्फ एड्भान्स्डले क्याम्ब्रिजलाई २२-८ ले पछि पार्दै आफ्नो जित सुनिश्चित गर्यो भने शाम्भवीले लाइसियमलाई २०-१० ले पछि पार्यो। त्यस्तै नोबेलले इलिक्सरलाई १७-०२ ले हराएर विजय हासिल गरेको थियो ।
त्यस्तै जगत मन्दिरले प्रस्फुटनलाई २२-०५ ले हरायो भने ज्ञान निकेतनले व्हिज किड्जलाई २८-१० ले हराएको थियो । त्यस्तै रिभेराले नेपाल मेगालाई २३-१३ ले पछि पार्यो र पिस पोइन्टले न्यु अरुणोदयलाई १७-१२ ले पछि पार्दै आ-आफ्नो जित पक्का गर्यो ।
त्यसैगरी, सिनियर गर्ल्स तर्फ शाम्भवीले एड्भान्स्डलाई २२-०४ ले पछि पार्यो भने पिस पोइन्टले लाइसियमलाइ ०८-०३ ले हरायो । त्यस्तै व्हिज किड्जले बेबिलोनलाई १०-०४ ले र रिभेराले नेपाल मेगालाई ०४-०२ ले पछि पार्दै जित सुनिश्चित गरेका थिए ।
त्यस्तै जुनियर ब्वाइजतर्फ लाइसियमले नोबेललाई १०-०२ ले पछि पार्यो भने ज्ञान निकेतनले जगत मन्दिरलाई ०७ – ०३ ले पछि पार्दै विजय हासिल गर्यो ।